साँझ ७ देखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाका पूर्णरुपमा बन्द

१६ साउन ०७७, काठमाडौं । गृह मन्त्रालयले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमन पूर्णरुपमा बन्द गर्न गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमन पूर्णरुपमा बन्द गर्न गराउन निर्देशन दिएको हो ।

काठमाडौं उपत्यका प्रवेश नाकामा कोभिड –१९ सम्बन्धी चेकजाँच गर्दा ठूलो संख्यामा यात्रुहरुमा कोभिड–१९ पोजिटिभ पाइएको भन्दै मन्त्रालयले अर्को आदेश नभएसम्मका लागि अत्यावश्यक सेवा र ढुवानीबाहेक साउन १५ गते साँझ देखि लागू हुनेगरी यस्तो व्यवथा गरेको हो ।

मन्त्रालयको विज्ञप्तिमा अत्यावश्यक काममा बाहेक अन्तरजिल्ला सवारी आवागमन पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयहरुलाई विशेष निर्देशन समेत गरिएको छ ।