मकवानपुर । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा प्रदेश ३ का सांसद जगत सिंखडाले सांसदहरुलाई छुटमा जग्गा दिने योजनाप्रति असहमति जनाएका छन् ।
केही सञ्चार माध्यममा सांसदहरुलाई छुटमा जग्गा दिने योजना सुनेको भन्दै सांसद सिंखडाले भूमिहीन, मजदुर र सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन सुझाएका हुन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव समेत रहेका सांसद सिंखडाले भने, ‘केही सञ्चार माध्यममा यस्तो तयारी भएको सुनेको छु । यो तयारी आफैँमा बदनियतपूर्ण ढंगबाट आएको छ । यदि यो कार्यन्वयन भए नीतिगत भ्रष्टाचार हुनेछ ।’
‘सांसदहरुलाई होइन, यहाँका भूमिहीन, मजदुर र सुकुम्बासीहरुलाई यहाँको स्थानीय निकायले नि:शुल्क जग्गा उपलब्ध गराओस्’ सांसद सिंखडाले भनेका छन्, ‘हामी यस्तो जग्गा, निवास लिँदैनौँ, म यसका विरुद्ध प्रदेश संसदमा समेत आवाज उठाउँछु । जनप्रतिनिधिले यो विषयमा बोल्नु पर्छ ।’
हेटौँडाको स्थानीय निकायले सांसदलाई ४० प्रतिशत छुटमा जग्गा उपलब्ध गराउने र थाहा उपमहानगरपालिकाले हेटौँडा कपडा उद्योगको भवन निवासका लागि उपलब्ध गराउने तयारी गरेको समाचार हालै सार्वजनिक भएको थियो ।
सांसद सिंखडाले बन्द भएको हेटौँडा कपडा उद्योगलार्ई पुन: सञ्चालनमा ल्याई निजामती सेना प्रहरी लगायतलाई अनिवार्य स्वदेशी उत्पादनमा लगाउन प्रेरित गर्नु पर्ने र हेटौंडा कपडा उद्योगबाट रोजगारी गुमाएका मजदुरलाई पुन: रोजगारी दिनुपर्ने बताएका छन् ।
हेटौंडाको स्थानीय निकाय तथा थाहा उपमहानगरपालिकाको तयारी प्रदेश नम्बर ३ का सांसदहरुले नै विरोध गर्न थालेपछि धरापमा परेको छ ।














