१७ जेठ, काठमाडौं । उर्जामन्त्री टोपबहादुर रायमाझीले निर्वाचन क्षेत्र विकास कोषको रकम वृद्धि गर्दै प्रत्येक सांसदलाई ५० लाख र निर्वाचित सांसदलाई ३ करोड दिने भनी अर्थमन्त्रीले सांसदलाई बजेट बढाएको घोषणा गरिरहँदा कांग्रेस सांसदहरुले खुसी भएर ताली पिटेको बताएका छन् ।
उर्जामन्त्री रायमाझीले प्रतिपक्षी कांग्रेस पार्टीले विरोध गरे जस्तो गरे पनि कांग्रेस सांसदहरु खुसी भएर ताली बजाएको जिकिर गरेका छन् ।
रायमाझीले सोमबार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारले ल्याएको बजेटमा कांग्रेसले विरोध गर्ने ठाउँ नपाएपछि सूचना लिक भयो भनेर विरोध गरेको बताए ।
उर्जामन्त्री रायमाझीले यस अघिका बजेटका समाचारहरु पत्रकारले पहिल्यै नलेखेका हुन् र ? भनी प्रश्न गर्दै वृद्धभत्ता बढाएर २ हजार पुर्याइएकोले बजेटले सबैलाई खुसी बनाएको दावी समेत गरे ।
सरकारले ल्याएको बजेट देखेर विपक्षी कांग्रेसले तोरीको फुल देखेको बताउँदै उर्जामन्त्री रायमाझीले कांग्रेस संसदीय दलको बैठकमा उपस्थितहरुले पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई गतवर्ष सांसदको बजेट ३ करोड बनाइदिएको भए, वृद्धभत्ता २ हजार पुर्याएको भए अहिले यस्तो अवस्था आउने नै थिएन भनेर झपारेको कुरा पत्रकारहरुलाई बताउन सुनाउन भ्याए ।
माओवादीले एमालेले बजेट एकलौटी गर्यो भनिरहेका बेला माओवादी नेता तथा मन्त्री रायमाझीले भने बजेट प्रति सन्तोष व्यक्त गरेका हुन् ।