
पालुङटार/गोरखा । अर्थमन्त्री जनार्दन शर्माले राजनैतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको देखिएकाले यसले पूर्णता पाउने बताएका छन् ।
लिगलिगकोट र पालुङ्टारलाई जोडेर राजनैतिक इतिहाससहितको पर्यटन विकासलाई अगाडि बढाउनु पर्ने भन्दै उनले यस्तो बताएका हुन् ।
पालुङ्टारलाई आइसिटिमा अघि बढाई स्मार्ट सिटि बनाउनु पर्ने बताउँदै उनले संघीय सरकार र अर्थमन्त्रालयबाट सबै सहयोय हुने बताए ।
स्मार्ट सिटिमा गरिबी र अभाव भन्ने कुरा हुँदैन भन्दै उत्पादनसँग जोडेर आयातित वस्तुलाई विस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।
“नजिकै नदी बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिञ्चाइ गर्न सकिरहेका छैनौँ, यो पानीलाई टारमा ल्याउने योजना प्राथमकितामा राख्नुपर्दछ,” मन्त्री शर्माले भने, “ यसका लागि सरकारले बजेट प्रदान गरेको छ, कामलाई द्रुतगतिमा अघि बढाउन अनुरोध गर्दछु ।”
देशमा एउटा पनि मल कारखाना नभएको र जापानीज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपुर्तीका कारणले आफूले यसै क्षेत्रलाई सिफारिस गरेको पनि उनले बताए ।
“संघीयता कार्यन्वयनका लागि दलहरु बीच राजनैतिक एकता अपरिहार्य भएकाले मलाई यो चिन्ह मन परेन, म सांसद बन्न पाइन भनेर मत विभाजन गर्नु हुँदैन,” उनले भने, “संसदको निर्वाचन सांसद बनाउन र मन्त्री बनाउन होइन, परिवर्तनपछि भएको व्यवस्थालाई कायम राख्न र साम्यवादमा पुग्नका लागि हो ।”













