सांसद र गाउँपालिका अध्यक्षसहित १४ जनालाई डडेल्धुरा कांग्रेसद्वारा कारवाहीको सिफारिस

१८ असोज ०७४, डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुरा कार्य समिति बैठकले सांसद, नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष, गाउँपालिका अध्यक्षसहित १४ नेताहरुलाई कारवाहीका लागि सिफारिस गरेको छ ।

कार्य समितिको बुधबार बसेको बैठकले सांसद नरभान कामी, नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, भागेश्वर गाँउपालिका अध्यक्ष कौशिला भट्ट लगायत १४ जनालाई कारवाहीको सिफारिस गरेको हो ।

मंगलबार नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति रघुबर भट्ट र वर्तमान सभापति कर्णबहादुर मल्ल समूहले प्रदेश सभाको निर्वाचनका लागी छुट्टा छुट्टै सिफारिस पठाएपछि आज सभापति मल्लले कार्य समितिको बैठक बोलाएर १४ जना नेताहरुलाई कारवाहीका लागि केन्द्रीय अनुशासन समितिलाई सिफारिस गरेका हुन् ।

जिल्ला पार्टी कार्यालयमा बोलाएको जिल्ला कार्य समितिको बैठकलाई बहिस्कार गरी शक्तिको आडमा छुट्टैै गुटको बैठक बोलाएर पार्टीलाई कमजोर पार्ने व्यक्तिहरुलाई कारवाहीका लागि सिफारिस गरिएको जिल्ला सभापति मल्लले पत्रकार सम्मेलनमा जानकारी दिए ।

रघुबर भट्ट समूहले जिल्ला कार्यसमिति विरुद्ध राज्यको शक्ति प्रयोग गरेर नेता तथा कार्यकर्ताहरुलाई विभिन्न प्रलोभन देखाएर कार्य समितिमा आफ्नो बहुमत पुर्‍याउन खोजेको भए पनि त्यसो हुन नसकेको सभापति मल्लले बताएका छन् ।

प्रदेश सभा तथा प्रतिनिधिसभामा नाम सिफारिस गर्ने अधिकार जिल्ला कार्य समितिलाई भएको बताउँदै सभापति मल्लले पाटीको विधि र पद्धति मिचेर मनोगत रुपमा नाम सिफारिस गर्नेहरुलाई केन्द्रीय अनुशासन समितिले कारवाही गर्नुपर्ने बताएका छन् ।

कारवाहीका लागि सिफारिस गरिएका नेताकार्यकर्ताहरुमा नेपाली कांग्रेस जिल्ला कार्य समिति सचिव लक्ष्मीप्रसाद अवस्थी, कोषाध्यक्ष हरिप्रसाद अवस्थी, नेपाली कांग्रेस पुर्व सभापति रघुवर भट्ट, महासमिति सदस्य गोविन्दराज बोहरा छन् । यस्तै नेपाल विद्यार्थी सघं केन्द्रीय अध्यक्ष एवम महासमिति सदस्य नैनसिंह महर, जिल्ला कार्य समिति सदस्यद्धय मान कुमारी थापा र पार्वती देवी झुकालको नाम उल्लेख छ ।

यस्तै कांग्रेस महाधिवेशन प्रतिनिधिद्धय तथा भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्ट र हरिप्रसाद भट्ट, कांग्रेस जिल्ला कार्य समिति सदस्यद्वय हेमराज चटौत र डिल्ली राज जोशी, कांग्रेस महाधिवेशन प्रतिनिधि भीमबहादुर साउद, कांग्रेस जिल्ला कार्य समिति सदस्य चन्दी टमटा र कांग्रेस महाधिवेशन प्रतिनिधि तथा संासद नरभान कामीको नाम कारबाहीका लागि सिफारिस गरिएको छ ।

पार्टीको विधान विपरित उम्मेदवार सिफारिस गरिएको भन्दै कारबाहीमा पर्ने पक्षले बहुमतका आधारमा मंगलबार उम्मेदवारको टुंगो लगाइएको भनिएपनि उनीहरुसँग बहुमत नभएको पत्रकार सम्मेलनमा पार्टी उपसभापति करुणाकर भट्टले जानकारी दिएका छन् ।

तपाइको मत