सांसद सिम्खडाद्वारा कोरोना उपचार कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषणा

अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका सांसद जगत सिम्खडा अबिर मालामा अभिवादन गर्दै ।

१४ चैत ०७६, धादिङ । बागमती प्रदेश सांसद जगत बहादुर सिम्खडाले कोरोना उपचार कोषमा एक महिनाको तलब जम्मा गर्ने बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका सांसद सिम्खडाले शुक्रबार एक महिनाको तलब “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष”मा जम्मा गर्ने बताएका हुन् ।

विश्वभर नै कोरोना भाइरस (कोभिड-१९)ले महामारीको रुप लिएको र पछिल्लो समय नेपालमा पनि कोरोनाको संक्रमण भेटिएपछि यसको रोकथाम र नियन्त्रणका लागि सांसद सिम्खडाले आफ्नो एक महिनाको तलब कोरोना कोषलाई दिने घोषणा गरेका हुन् ।

सांसद सिम्खडाले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन सरकारले गरेको आह्वानलाई पूर्ण पालना गर्न पनि सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् ।

हाकाहाकीसँगको संक्षिप्त कुराकानीका क्रममा उनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको शंका लागेमा नजिकैको अस्पताल वा चिकित्सकसँग परामर्श गर्नुपर्ने बताएका छन् ।

सांसद सिम्खडाले आम श्रमवीजी मजदुरहरुलाई सरकारले घोषणा गरेको ‘लकडाउन’को अवधिभर अत्यावश्यक काममा बाहेक घरमै सुरक्षितरुपमा बस्न सुझाएका छन् । साथै, उनले कोलाहल र भिडभाडबाट टाढा रहन आग्रह गर्दै रोग लागेर उपचार गर्नुभन्दा पूर्व सावधानी अपनाउन उचित हुने बताएका छन् ।

“मास्क र सेनिटाइजर प्रयोग गरौँ; हाछ्यूँ गर्दा नाक, मुख छोपौँ वा सुरक्षित विधि अपनाऔँ; भाइचारा सम्बन्धका लागि नमस्कार वा अभिवादन गरौँ; रमाइलो र शुभकार्य घरपरिवारमा सीमित गरौँ; सरसफाइमा ध्यान दिऔँ; संक्रमणको शंका लागेमा तुरुन्त अस्पताल जाऔँ, सरकारको आदेश पालना गरौँ” सांसद सिम्खडाले भनेका छन् ।

“संसारभरिका मानव जातिले सामाना गरिरहेको (कोभिड–१९) नामक भाइरससँग लड्न म प्रदेस सांसदले प्राप्त गर्ने एक महिनाको तलब सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) कोषमा जम्मा गर्ने घोषणा गर्दछु” सांसद सिम्खडाले सामाजिक सञ्जालमा यसरी लेखेका छन्, “यो महामारीबाट सामान्य इच्छाशक्ति र अठोटले पार पाउन सकिन्न, हामी सबै एकजुट भएर सरकारी निर्णयहरुको पालना गरौं र आत्मअनुशासनमा बसेर एकले अर्कालाई सघाऔं ।”