साउदी अरेयिबाले अर्को सूचना जारी नहुँदासम्म कर्फ्यु जारी राख्ने

३० चैत ०७६, काठमाडौं । साउदी अरेबियाले मुलुकभर लगाइएको कर्फ्यु अनिश्चितकालका लागि बढाउने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेक्रम बढेसँगै साउदी अरेयिबा सरकारले अर्को सूचना जारी नहुँदासम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो ।

अलजजिराका अनुसार शनिबार साउदीको आन्तरिक मन्त्रालयले यसअघि लागू गरिएका सबै नियम अर्को सूचना नआउँदा सम्म जारी रहने र मुलुकका १३ प्रान्तको आवतजावतमा रोक लगाइने बताएको छ ।

साउदीका राजा सलमान बिन अब्दुल्ला जिज अल साउदले गत मार्च २३ देखि मुलुकभर बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म लगाइएको २१ दिने कर्फ्यु बढाउने निर्देशन दिएका हुन् । गत साता साउदीले रियादलगायत अन्य सहरमा भने कर्फ्यूको समय बढाएको थियो । यी सहरमा २४ घण्टा नै कर्फ्युको घोषणा गरिएको छ ।

यी सहरमा नागरिकहरुलाई अत्यावश्यक किनमेलका लागि बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म बाहिर निस्किन दिइएको छ ।