२६ असार ०७४, काठमाडौं । निर्वाचन आयोगले साउन १ देखि १५ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने भएको छ ।
सोमबार निर्वाचन आयोगले प्रदेश र संघीय संसदको चुनावका लागि साउन १ देखि १५ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता खुला गर्ने निर्णय गरेको हो ।
नामावली दर्ताका लागि नागरिकता लिएर सम्वन्धित जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा जानु पर्नेछ । बसाईसराईको हकमा बसाईसराई प्रमाण अनिवार्य आवश्यक पर्ने प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । तर, पहिला जस्तो आफू बस्दै आएको ठाउँबाट आफ्नो जिल्लामा नाम दर्ता गराउन नमिल्ने शर्माले बताए ।
विगतमा आफू बस्दै आएको जिल्लाको निर्वाचन कार्यालयबाटै सम्वन्धित जिल्लामा फोटो सहितको मतदाता नामावली अध्यावधिक गर्न सकिने व्यवस्था थियो ।
निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा कुनै त्रुटी भए सच्याउन पनि सकिनेछ ।
हालै भएको स्थानीय तहको निर्वाचनमा गत फागुन ९ गतेसम्म नाम अध्यावधिक भएका १ करोड ४० लाख मतदाता थिए ।