१९ असोज ०७८, विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणका भरिया सनम शाक्यको हत्यामा सङ्लग्न गोरे भनिने चुडामणि उप्रेती लगायत ८ जनालाई अदालतले दोषी ठहर गरेको छ ।
अदालतले गोरेसहित हत्याका ६ आरोपी गोरेका सवारी चालक टेकराज मल्ल ठकुरी, सहयोगी लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय तोकेको छ ।
यस्तै राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महीना कैद सजायको फैसला भएको छ । कैद भुक्तान गरेका राजन कुमार र माधव घिमिरेसहित मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका २१ जना मंगलबार नै छुटेका छन् ।
तस्करीको आरोप खेपिरहेका ४८ जनाले भने सफाइ पाएका छन् । ७७ जनालाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा ५६ जना पक्राउ परेका थिए । तीमध्ये ४८ जनाले सफाइ पाएका हुन् । ७७ मध्ये २१ जना फरार छन् ।
सुन तस्करी मुद्दाका २१ जना प्रतिवादीको मुद्दा मुल्तबीमा राखिएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए ।