१९ बैशाख, काठमाडौं । संसद्ले नियमावलीको मस्यौदा बनाउन एक महिनाको समय दिएर समिति गठन गरेको सात महिना पुग्न लागिसक्दा पनि सुनुवाई समिति गठनका लागि दलहरुबीच सहमति जुट्न सकेको छैन् ।
सभामुख ओनसरी घर्तीले एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर संसदीय सुनुवाइ विशेष समिति गठनका लागि सहमति जुटाउन प्रयास गरकी थिइन् । तर, प्रमुख तीन दलका शिर्ष नेतासँग सामूहिक छलफल गरे पनि सहमति जुट्न सकेन् ।
समिति गठनको विषयमा तीन दलका नेताहरुको मत बाझिए पछि नियमावली बनाउन ढिलो भएको र त्यसको असर प्रधानन्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी तथा राजदूतको नियुक्तिमा परेको सभामुख घर्तीले बताइन् । नियमावलीको विषयमा निर्णय गर्नका लागि नियमावली मस्यौदा समितिको बैठक सोमबार बोलाइएको छ ।