१३ जेठ ०७७, काठमाडौं । संघीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले सामाजिक सुरक्षा ऐनको मौजुदा व्यवस्था संशोधनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिले २०७५ असोज २ गते जारी भई प्रमाणीकरण भएको ऐन तर्जुमामा त्रुटि भएको भन्दै सच्याउन लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।
जारी ऐनले ६० वर्षभन्दा कम उमेरका एकल, असहाय र अपाङ्गता भएका महिलाले पाउँदै आएको भत्ता साथै प्रचलित सामाजिक सुरक्षाको दायरा कटौती भएको भन्दै पछिल्लो समयमा विरोध भइरहेको छ ।
सरोकारवालाहरुको विरोधपछि समितिले त्रूटि सच्याउन ध्यानाकर्षण गर्दै भनेको छ, “असहाय एकल तथा विधवा महिला र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरिँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न सोको संशोधन विधेयक सङ्घीय संसदको चालू अधिवेशनमा पेस गर्न नेपाल सरकार गृह मन्त्रालयलाई ध्यानाकर्षण गराउने ।”
उक्त ऐनबाट ६० वर्षमुनिका एकल महिलाले पाउँदै आएको भत्ता हटेको थियो । ऐनले ६० वर्षभन्दा माथि मात्र त्यस्तो भत्ता कायम गर्ने व्यवस्था गरेको छ ।