सामाजिक सुरक्षा कार्यान्वयन नगर्ने रोजगारदातालाई कालोमोसो दल्नुस् – जगत सिम्खडा

“रोजगारदाताले न्यूनतम वेतन र सामाजिक सुरक्षा कार्यान्वयन गरेको छैन भने कालोमोसो दलेर प्रदेशबाट लखेट्नुस् !”

९ साउन ०७९, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन नगर्ने रोजगारदाताविरुद्ध कालोमोसो दल्ने लगायतमा संघर्षमा उत्रन पेशागत संगठनका नेतृत्वलाई निर्देशन दिएका छन् ।

महासंघका अध्यक्ष सिम्खडाले अखिल नेपाल ट्रेड युनियन महासंघको नवौं राष्ट्रिय महाधिवेशनको तयारीका लागि सातवटै प्रदेशको बैठक सकेपछि संगठनको गतिविधिबारे सोमबार संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले अन्टुफ मधेश प्रदेशको बैठकमा भनेका थिए, “जुनसुकै कम्पनीले होस् न्यूनतम वेतन र सामाजिक सुरक्षा कार्यान्वयन गरेको छैन भने कालोमोसो दलेर प्रदेशबाट लखेट्नुस्, महासंघको अध्यक्षले मालिकलाई नलखेट्नु भन्न आयो भने मलाई नै कालोमोसो दल्नुस् न !”

उनले गत जेठ २६ गते बसेको महासंघको सचिवालय बैठकले लिएका निर्णयहरू कार्यान्वयनका लागि पेशागत संगठनको केन्द्रीय समितिहरूका बैठक बसेपछि महासंघ सातै प्रदेशको बैठक पनि सम्पन्न गरिएको जानकारी दिए ।

यस्तै पेशागत संगठनहरूको राष्ट्रिय सम्मेलन भदौ मसान्तसम्म र महासंघको नवौं राष्ट्रिय महाधिवेशन आगामी फागुन ११, १२ र १३ गते काठमाडौंका सम्पन्न गर्ने पनि उनले बताए ।