२६ मंसिर ०७९, काठमाडौं । निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची नमिलेकालाई मिलाउन आज अपराह्न ४ बजेसम्मको समय दिएको छ ।
निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले अपराह्न ४ बजेसम्म समानुपातिक सांसदहरुको सूची मिलाउन समय दिइएको जानकारी दिए ।
वाग्लेले समानुपातिक सांसदहरुको सूची सकेसम्म आजै सार्वजनिक गर्ने तयारी अनुसार काम भइरहेको पनि बताए ।
राजनीतिक दलहरुले सूची नमिलेका नामहरुलाई मिलाएर पठाएसँगै आयोगले आजै सामानुपातिक सांसदहरुको सूची सार्वजनिक गर्ने तयारी गरेको छ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचनतर्फ देशभरबाट प्राप्त मतका आधारमा नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र ५ जनमत पार्टीले ५÷५ सिट समानुपातिकतर्फ पाएका छन् ।













