सिंगापुरलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

२९ भदौ ०७४, काठमाडौ । एसीसी यू-१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

बिहीबार विहान मलेसियामा  सम्पन्न खेलमा नेपालले सिंगापुरलार्इ ७ विकेटले हराएको हो । नेपाल तीन वटै खेल जित्दै समुह विजेता बनेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरका ब्याट्सम्यानहरु नेपाली बलरका सामू निरिह सावित भए । सिंगापुर २८.३ ओभरमा ६७ रन बनाउँदा सबै विकेट गुमाएको थियो । सिंगापुरको ब्याटिङ धराशयी बनाउन पवन सर्राफले ६ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ४ मेडन राख्दै मात्र १२ रन खर्चिएका थिए ।

किशोर महतोले २ तथा सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए । सिंगापुरका लागि सिद्धान्तले सर्वाधिक २० रन बनाए भने रोहन रंगाराजनले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्  ।

सिंगापुरले दिएको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि सन्दिप सुनारले २०, अनिल कुमार साहले १८ तथा महमद आशिफ शेखले ६ रनको योगदान दिए ।

तपाइको मत