१५ फागुन ०७४, काठमाडौं । स्वास्थ्य मन्त्रालयले सिंहदरबारमा कार्यरत कर्मचारीलाई लक्षित गरेर सिंहदरबारभित्र हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य मन्त्रालयले छैटौ स्वास्थ्य सेवा दिवस-०७४ को अवसर पारेर मंगलबारबाट उक्त हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो । सञ्चालित हेल्थ डेस्कको मुख्यसचिव लोकदर्शन रेग्मीले उद्घाटन गरे ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयको तीनवटा कोठामा कर्मचारीलाई लक्षित गरेर हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ ।
मुख्य सचिव रेग्मीले सरकारको केन्द्रीय सचिवालय सिंहदरबारमा कार्यरत कर्मचारी र सेवाग्राहीका लागि उपचार केन्द्रद्य आवश्यक रहेको बताए । उनले भने, ‘सरकारको केन्द्रीय सचिवालयसमेत रहेको सिंहदरबारमा ठूलो संख्यामा जनशक्ति कार्यरत छ । यहाँ सेवाग्राहीको आवगमन पनि धेरै हुने गरेको छ । यस्तो महत्वपूर्ण ठाउँमा मानिसहरुलाई जुनसकै बेला पनि स्वास्थ्य सम्बन्धि समस्या आइपर्न सक्छ, त्यसैले हेल्थ डेस्क सञ्चालन गरेका हौं ।’
हेल्थ डेस्कले प्राथमिक स्वास्थ्य उपचार र औषधी सेवा दिनेछ । हेल्थ डेस्कमा आवश्यक जनशक्ति वीर अस्पतालबाट आउनेछन् । पूर्वाधारको व्यवस्था स्वास्थ्य सेवा विभागले गरेको छ ।
हेल्थ डेस्कमा एक चिकित्सक, एक नर्स र प्यारामेडिस्क रहनेछन् । प्रत्येक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने हेल्थ डेस्कबाट सिंहदरबारभित्र कार्यरत झण्डै ७ हजार कर्मचारी लाभान्वित हुनेछन् ।
वीर हस्पिटलका निर्देशक डा. भूपेन्द्र बस्नेत हस्पिटलले आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गरेकाले सिंहदरबारमा कार्यरत कर्मचारीले स्वास्थ्य परिक्षणका लागि बाहिर जानु नपर्ने र त्यहाँ उपचार हुन नसकेका विरामीलाई वीर अस्पतालमा रेफर गरिने बताए ।