२५ जेठ ०७६, राजविराज । उद्योग मन्त्री मात्रृका यादवले राजनितिक दलका नेताको जस्तो भाषण नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
सप्तरीका सिडिओ सुरेन्द्र पौडेलको निवासमा शनिबार आयोजित छलफलका क्रममा कर्मचारीहरूले स्थानीय समस्या र नीतिगत सुधारका विषयमा कुरा उठाएपछि मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष साहले सप्तरीको उद्योग र उत्पादन संकटमा परेको भन्दै सुझाव प्रस्तुत गरेपछि मन्त्री यादवले उनीसँग डाटा माग गरे । ‘सप्तरीमा कति उद्योग छन्, ती उद्योगले धान्ने बजार कति हो?’ भन्दै मन्त्रीले प्रश्न सोधेपछि साहले आफूसँग आधिकारिक तथ्यांक नभएको बताएका थिए ।
मन्त्री यादवले कर्मचारी सरकारको प्रतिनिधि भएकाले तथ्यमा आधारित भएर बोल्न कर्मचारीलाई सुझाए । ‘तथ्यमा आधारित भएर बोल्नोस्, भाषणले देश चल्दैन । ’उनले भने, ‘कर्मचारीले राजनीतिक दलका नेता जस्तो भाषण गर्ने होइन् ।’
अधिकांश सरकारी कार्यालयमा तथ्यांक अभाव हुने गरेकाले अब तथ्यांक संकलन गर्न उनले निर्देशन पनि दिए । ‘समस्या के हो ?, त्यसको आधिकारिक डाटा तयार पार्नोस् । अर्को पटक आउँदा म त्यो डाटा हेर्छु’ -उनले भने ।
लगत्तै प्रमुख जिल्ला अधिकारी पौडेलले केही दिनअघि सप्तरी उद्योग वाणिज्य संघले आयोजना गरेको एक कार्यक्रममा प्रस्तुत गरिएको विषयलाई घरेलुका प्रमुख साहले राखेको र त्यस विषयमा आफूले थप प्रष्ट्याउने भन्दै मन्त्रीको चित्त बुझाएका थिए ।
यसपछि जिल्ला भन्सार कार्यालय सप्तरीका प्रमुख अभिषेक कण्ठले भन्सार कार्यालयमा सामान परीक्षण गर्ने प्रविधिको अभाव भएको र काम गर्न समस्या भएको गुनासो गरेका थिए ।
खुला सिमानाका कारण राजस्व असुली पनि प्रभावित भएको उनले स्मरण गराए । मन्त्री यादवले उनलाई बीचमै रोकेर ‘खुल्ला सिमाना आजको समस्या होइन र तपाईंको जिल्लामा मात्रै पनि होइन’ भन्दै ‘तपाई र प्रहरी मिलेर कति समान वारपार गराउनु हुन्छ ?’ भन्दै प्रश्न गरेका थिए ।
यस विषयमा पनि सिडिओ पौडेलले मन्त्रीलाई रोकेर आफूले थप कुरा प्रष्ट पार्ने बताए ।
पत्रकारलाई कार्यक्रम स्थलबाट निकालियो
कर्मचारीहरूप्रति मन्त्री कडा रुपमा प्रस्तुत भएपछि सिडिओ पौडेलले कार्यक्रमलाई रोकेर पत्रकारलाई बाहिर निस्कन निर्देशन दिएका थिए ।
यो कर्मचारीहरूसँगको आन्तरिक छलफल भएकाले कार्यक्रम सकिएपछि पत्रकारसँग छुट्टै कुरा गर्ने उनको भनाइ थियो । ‘पत्रकारहरू भएर मन्त्रीजीले खुलेर कुरा गर्न सक्नु भएन, त्यसैले तपाईंहरू बाहिर गइदिनोस् ।’ उनले भने, ‘अन्तिममा हामी तपाईंहरूसँग छुट्टै बसेर कुरा गर्छौं ।’
सिडिओ पौडेलले कर्मचारीलाई पत्रकारहरुका लागि कुर्सीको व्यवस्था गर्न निर्देशन दिँदै गर्दा पत्रकारहरूले कार्यक्रम बहिष्कार गरेर बाहिरिएका थिए ।
सो विषयमा जिज्ञासा राख्दा पत्रकार महासंघका उपाध्यक्ष श्याम सुन्दर यादवले सिडिओ पौडेलको व्यवहार आपत्तिजनक र खेदपूर्ण रहेको प्रतिक्रिया दिएका थिए ।













