सिन्धुपाल्चोक पहिरोमा पुरिएका ११ जनाको शव भेटियो, खोजी कार्य जारी

३१ साउन ०७७, सिन्धुपाल्चोक । जिल्लाको जुगल गाँउपालिका-२ को लिदीमा गएको पहिरोमा पुरिएका ११ जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पहिरोमा पुरिएका ११ जनाको शव भेटिएको र नेपाली सेना, नेपाल प्रहरी साथै स्थानीयले हराइरहेकाहरुको खोजी कार्य जारी राखेका बताएको छ ।

प्रहरीले पहिरोमा परेर घाइते भएका एक जनाको काठमाडौँर चार जनाको जिल्ला सदरमुकाम चौतारामा उपचार भइरहेको बताएको छ ।

प्रहरीकाअनुसार पहिरोमा परेर छविलाल दोङ, सोमरानी, धनलक्ष्मी, शिरमाया, बिबरानी, साहिँली दोङ, बिबी लक्ष्मी, सानुकान्छा, साङलामो, सोनाम दोङ, हीरा भक्ति, जीते झाँक्री, दिन्दुस, सुरज, करेसमाई, च्यामा, सानु, टीकामाई, छिरिङ, मानबहादुर, जयबहादुर, प्रिया दोङ, प्रीति, कान्छी, सानुकान्छी, वाङ्ची लामा दोङ, गर्भवतीसमेत रहेकी सानुकान्छी दोङ, धनमाया तामाङ दोङ, रेनिस, मेकमाई, मिलन, विमला, माइला पाराङ, प्रकाश, साइली, आयुश दोङ र सुवास तामाङ हराइरहेका छन् ।

यसैबीच शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदी र कालिकोट जिल्लाको महावै गाउँपालिका र मकवानपुर जिल्लाको थाहा नगरपालिका गैरीगाउँमा पहिरोबाट मृत्यु भएका सबैप्रति पार्टीकोतर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले वर्षायाममा पहाडी भेगमा हुने गरेका यसप्रकारका घटनाहरुको न्यूनीकरणका लागि दीर्घकालिन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै मोडलको योजना तर्जुमामा ध्यान पु¥याउन सम्बन्धित सबैमा अपील समेत गरेका छन् ।