सिम्रौनगढ ५ मा केटीहरुलाई मोबाइल लिन, चलाउन नै प्रतिबन्ध

५ चैत ०७६, बारा । बिबाह नभएका केटीहरुलाई सिम्रौनगढ नगरपालिका वडा नं ५ मा मोबाइल लिन, चलाउन नै प्रतिबन्ध गरिएको छ ।

कम उमेरमै भागेर बिहे गर्ने क्रम बढेपछि बुधबार बसेको ५ नम्बर वडा बैठकले अविवाहित केटीहरुलाई मोबाइल लिन, चलाउन नदिने निर्णय गरेको हो ।

वडा ५ का अध्यक्ष रामबहादुर कुर्मीकाअनुसार केटाकेटी कम उमेरमै भागेर बिहे गर्ने, अभिभावक जनप्रतिनिधिकोमा गुनासो लिएर आउने क्रम बढेपछि यस्तो निर्णय गरिएको हो ।

‘छोराछारी भागेपछि अभिभावक जनप्रतिनिधिकोमा गुनासो लिएर आउँछन्’ अध्यक्ष कुर्मीले भने ‘एक महिनामा चौरहरिया टोलबाट मात्रै दुई जना १२ देखि १४ वर्ष उमेर समूहका केटीहरु भागे ।’

सरकारले विवाहको उमेर २० वर्ष तोकेको स्मरण गराउँदै अध्यक्ष कुर्मीले भने, ‘विवाहित महिलाले आफ्नो माइतीमा फोन गर्नुपर्छ, फोन चाहिन्छ । अविवाहितले कहाँ फोन गर्नु पर्छ र ? त्यसैले मोबाइल लिन, चलाउन रोक लगाउने निर्णय गरेका हौं ।’

यसैगरी अविवाहित केटाकेटाहरु घर बाहिर काममा रहने भएकाले मोबाइल बोक्न प्रतिबन्ध नलगाइएको उनले बताए ।