३१ बैशाख ०७७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका सांसद तथा बरिष्ठ अधिवक्ता रामनारायण विडारीले दुई किसिमले देश आक्रन्त भएको बताएका छन् ।
बुधबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै सांसद विडारीले कोरोना भाइरस र छिमेकीको हेपाईले देश आक्रन्त भएको बताएका हुन् ।
“देश अहिले दुई किसिमले आक्रान्त प-यो एकैचोटी; हुनत जहिले आक्रान्त पर्छ, त्यही बेला भारत जुरुक्क उठेको देखिन्छ र हामीलाई थिचोमिचो गरेको देखिन्छ । अहिले कोरोना भाइरस प्राकृतिक रुपमा, छिमेकीको हेपाई मानवीयरुपमा आइराखेको देखियो,” सांसद विडारीले भने ।
अहिलेको सरकारले जनता एकजुट भएका बेलामा सीमा क्षेत्रमा पूरै देशलाई तारजाली लगाउने काम तत्काल थाल्नुपर्ने पनि बताए ।
सांसद बिडारीले भने, “यही आर्थिक वर्षबाट नै तारजाली लगाएर रातीराती करेन्ट छोड्ने र दिउँसो करेन्ट निकाल्दिने, त्यो तारजाली पूरै देशलाई लगाउने काम तत्काल गरिनु पर्दछ ।”
रोगहरु कहिले कोरोना, कहिले स्पेनिस फ्लु कहिले के के, जुनसुकै नामबाट आउन सक्ने भन्दै उनले २०२० सालमा बनेको संक्रमण रोग ऐन र २०७४ सालमा बनेको विपद् व्यवस्थापन कानुनले पनि काम नगरेकाले अर्मेला एक्ट बनाउनु पर्नेमा जोड दिए ।