सीमा विवादबारे नेपालको वार्ता प्रस्ताव भारतद्वारा अस्वीकार !

३० फागुन ०७६, काठमाडौं । नेपाल सरकारले सीमा विवाद समाधानका लागि कूटनीतिक नोटमार्फत पठाएको वार्ता प्रस्ताव भारतले अस्वीकार गरेको छ ।

भारतले आफ्नो आठौं राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका नेपालको भूभाग समेटेर सार्वजनिक गरेपछि सीमा विवाद हल गर्न परराष्ट्र मन्त्रालयले वार्ताका लागि गरेको प्रस्ताव भारतले अस्वीकार गरेको हो ।

शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र सचिव शंकरदास बैरागीले सीमा विवाद समाधानका लागि नेपालको वार्ता प्रस्ताव भारतले अस्वीकार गरेको जानकारी दिए ।

बैरागीकाअनुसार कूटनीतिक नोटमार्फत परराष्ट्र मन्त्रालयले पठाएको मितिमा वार्ता गर्न भारतले असमर्थ रहेको जवाफ पठाएको तर दुई देश बीचको सीमा विवाद समाधान गर्न भारत तयार रहेको उल्लेख गरिएको उनले जानकारी दिए ।

गत कार्तिक १६ गते भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका नेपाली भूभाग समेटेर आफ्नो आठौं राजनीतिक नक्सा सार्वजनिक गरेपछि परराष्ट्र मन्त्रालयले २० कार्तिकमा विज्ञप्तिमार्फत् एकतर्फी रुपमा जारी नक्सा मान्य नहुने जनाएको थियो ।