सीसीएमसीमा चार जना मन्त्री थपिए, उच्चस्तरीय समिति निस्क्रिय

३० जेठ, काठमाडौं । सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई शक्तिशाली बनाएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले कोरोना संक्रमण नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई निस्क्रिय बनाएर सीसीएमसीमा चारजना मन्त्री थपेर शक्तिशाली बनाएको हो ।

मन्त्रिपरिषद बैठकमै केही मन्त्रीले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि एउटा मात्रै संयन्त्रले काम गर्नुपर्ने बताएपछि सीसीएमसीलाई शक्तिशाली बनाएको हो ।

यसअघि उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, संघीय मामिलामन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री डा.युवराज खतिवडा रहेको सीसीएमसीमा कृषिमन्त्री घनश्याम भुसाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटन मन्त्री योगेश भट्टराई र उर्जामन्त्री वर्षमान पुन थपिएका छन् ।

सीसीएमसी कार्यालय नेपाली सेनाको रेन्जर गणमा रहेको र बैठक पनि त्यहीँ बस्दै आएकोमा शुक्रबार प्रधानमन्त्री कार्यालयमै बैठक राखिएको सूचना पठाइएको थियो ।

सीसीएमसी निर्देशक समितिको बैठक आज पहिलो पटक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको छ ।