सुकुम्बासी बस्तीमा हस्तक्षेप नगर्न सबै संयन्त्रलाई प्रधानमन्त्रीको निर्देशन

४ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैकल्पिक व्यवस्था बिना सुकुम्बासी बस्तीमा हस्तक्षेप नगर्न सरकारका सबै संयन्त्रलाई निर्देशन दिएका छन् ।

पूर्व कृषिमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता हरिबोल गजुरेलको नेतृत्वमा आएको अखिल नेपाल सुकुम्बासी संघको प्रतिनिधि मण्डलको ज्ञापनपत्र बुझ्दै शनिबार साँझ प्रधानमन्त्री प्रचण्डले वैकल्पिक व्यवस्था बिना सुकुम्बासी बस्तीमा हस्तक्षेप नगर्न सरकारका सबै संयन्त्रलाई निर्देशन दिइसकेको बताए ।

प्रधानमन्त्री प्रचण्डले सुकुम्बासी बस्ती उठाउन खोज्ने, वत्ति पानीको सुविधाबाट बञ्चित गर्ने जस्ता कामहरु तत्काल बन्द गर्न निर्देशन दिइसकेको बताउँदै कहीँ-कतै निर्देशन पालना नभएको भए जानकारी गराउन समेत सुझाए ।

प्रधानमन्त्रीले वर्षातको समयमा बैकल्पिक व्यवस्था सम्भव नभएकाले सुकुम्बासी बस्तीमाथि भौतिक र मनोवैज्ञानिक हस्तक्षेप नगर्न निर्देशन दिएको जानकारी दिँदै छिट्टै सरकारले उचित व्यवस्थापन गर्ने बताएका छन् ।

शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा सुकुम्बासी लगायतका उत्पीडित समुदायलाई प्राथमिकता दिइने बताउँदै प्रधानमन्त्रीले गरीबका लागि सरकारको कार्ययोजना उत्पीडितका पक्षमा काम गर्ने प्रतिवद्धतासहित आएको बताए ।

तपाइको मत