२१ असार ०७७, धनगढी । प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुको अवरोधका बिच सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथिको छलफल सम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
सभामुख अर्जुन बहादुर थापाले नाराबाजीसहित प्रतिपक्षी दलले रोष्ट्रम घेराउ गरे पनि बजेटमाथिको छलफल सम्बन्धी प्रस्ताव स्वीकृत भएको घोषणा गरेका हुन् ।
असार १ गते प्रदेश सरकारले ल्याएको बजेट प्रतिपक्षी दलको अवरोधका कारण पारित हुन सकेको थिएन ।
आइतबार सभामुख थापाले सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई बजेटमाथिको दफावार छलफलका लागि प्रस्ताव पेस गर्न समय दिएका थिए ।
संसद बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको र सोमबार बजेटमाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।