१७ कार्तिक ०७६, काठमाडौं । यात्रु बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशीमा खस्दा ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
आइतबार दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशीमा खस्दा ६ जनाको मृत्यु भएको हो ।
पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । २० जनाको उद्दार गरी उनीहरूलाई बनेपा अस्पतालमा पठाइएको छ ।
बसमा कति जना यात्रु थिए भन्ने एकिन नभएकोले अझै केही यात्रु पानीमा हराएको हुनसक्ने डीएसपी काफ्लेले बताए ।













