सुनको मूल्य एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँ घट्यो

२९ साउन ०७७, काठमाडौं । नेपाली बजारमा प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य एकैदिन ६ हजार २ सय रुपैयाँ घटेको छ ।

गत शुक्रबार सबैभन्दा उच्च पुगेको सुनको मूल्य घटेर बुधबार छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम रह्यो भने चाँदीको मूल्य पनि घटेर एक हजार २ सय १० रुपैयाँ प्रतितोला कायम भएको छ ।

नेपाली बजारमा गएको शुक्रबार सुनको मूल्य सबैभन्दा उच्च भई प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजार विश्लेषकहरूका अनुसार मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसको खोप तयार भएर प्रयोग गर्न सकिने अवस्थामा पुगेको र छिटै ठूलो परिमाणमा उत्पादन सुरु गरिने समाचार बाहिरिएसँगै सुनको मूल्यमा गिरावट आउन थालेको बताएका छन् ।