२७ पुस, काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिले ३३ किलो सुन तस्करीमा संलग्नहरुलाई पहिचान गरी संगठित अपराध अन्तरगत मुद्दा चलाउन सरकारलाई निर्देशन दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राजस्व चुहावट र सुन तस्करी रोक्न अधिकार सम्पन्न उच्चस्तरीय छानविन समिति गठन गर्न पनि सचेत गराएको हो ।
समितिको बुधबार बसेको बैठकमा सभापति प्रकाश ज्वालाले विमानस्थलमा कार्यरत कर्मचारीको मिलेमतोमा नियमित रुपमा अवैध सुन तस्करी र राजस्व चुहावट भएको पुष्टि भएको भन्दै समितिले विमानस्थलमा कार्यरत प्राविधिक र प्रशासन समूहका सबै कर्मचारीलाई जगेडामा राखेर नयाँ कर्मचारी पठाउन पनि अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले विमानस्थलमा रहेका विभिन्न सरकारी निकायबीच आवश्यक समन्वयको अभाव र कामको बाँडफाँड नभएकाले राजस्व चुहावट र तस्करी भएकाले आवश्यक समन्वय गर्न पनि सरकारलाई सचेत गराएको छ ।
त्यसैगरी विमानस्थल भएर बाहिरिने यात्रुको मात्र जाँच गर्ने व्यवस्था रहेकाले तत्कालै नेपाल भित्र्ने यात्रुको पनि कडा जाँच गर्न समितिले नागरिक उड्डयन प्राधिकरणलाई पनि निर्देशन गरेको छ ।