सुरक्षाको प्रत्याभूति नभएसम्म निर्माण व्यवसायीले सबै काम रोक्ने

२३ असोज ०७४, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या भएपछि महासंघले सुरक्षाको प्रत्याभूति नभएसम्म निर्माणका सबै काम रोक्ने घोषणा गरेको छ ।

सोमबार महासंघले गौचनको हत्यारा पक्राउ नगरेसम्म देशभर निर्माणसम्बद्ध सबै काम रोक्ने घोषणा गरेको हो ।

महासंघका अध्यक्ष गौचनको काठमाडौंको शान्तिनगर खरिबोटमा गोली प्रहारबाट सोमबार अपरान्ह हत्या भएको थियो ।

बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गौचनमाथि बानेश्वरको प्रयाग मार्ग नजिकै गोली प्रहार भएको थियो ।

गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फको शिशामा ढुंगा प्रहार गरेको र गाडी रोकिएपछि दुई गोली प्रहार गरेका थिए । गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।

गौचनको घर र घटनास्थल करिब ५० मिटरको दुरीमा छ ।

गौचनको हत्यापछि महासंघका महासचिव रामशरण देउजाले यस घटनाबाट देशभरका निर्माण व्यवसायीमा त्रासको वातावरण सिर्जना भएको बताएका छन् ।

महासंघले देशका विभिन्न विकट स्थानमा पनि विभिन्न निर्माणको काम चलिरहेको भन्दै काठमाडौंमै सुरक्षा दिन नसक्ने सरकारले दूर्गम क्षेत्रमा व्यवसायीको कसरी सुरक्षा दिन सक्छ ? भनेर प्रश्न गरेको छ ।

यसैबीच गृहमन्त्री जनार्दन शर्माले शंकास्पद तीनजना पेस्तोलसहित पक्राउ परेको र हत्यामा संलग्नलाई छिट्टै सार्वजनिक गरिनेे बताएका छन् ।

 

तपाइको मत