१३ मंसिर ०७४, काठमाडौं । गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा चेकजाँच कडा बनाउन निर्देशन दिएका छन् ।
वम विस्फोटमा म्यादी प्रहरीको मृत्यु हुनुका साथै उम्मेदवार घाइते भएपछि प्रधानमन्त्री देउवाले बुधबार चार वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुरक्षा चेकजाँच कडा बनाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको निर्देशनपछि गृह-सचिव मोहनकृष्ण सापकोटाले चुनावलाई असर पार्ने तथा विस्फोटका गतिविधिहरुलाई निस्तेज पार्न कडा कारवाही गरिने बताएका छन् ।
शान्ति सुरक्षाको प्रवन्ध मिलाउन आवश्यकता अनुसार न्यूनतमदेखि अधिकतमसम्म बल प्रयोग गरिने सापकोटाले जानकारी दिए ।
स्रोतका अनुसार बैठकमा प्रधानमन्त्रीले झोलामा राखेर बम लगेर विस्फोट गराउँदा पनि थाहा नपाएको भन्दै आक्रोस पोखेको थिए ।
मंगलबार प्रधानमन्त्री देउवाको चुनावी सभा नजिकै भएको बम विस्फोटमा घाइते भएका मध्ये म्यादी प्रहर विनोद चौधरीको उपचारका क्रममा निधन भएको छ ।
यस्तै बुधबार उदयपुरमा भएको बम विस्फोटमा कांग्रेस उम्मेदवार नारायण कार्कीसहित ७ जना घाइते भएका छन् ।
सुरक्षा समितिले दाङ विस्फोटमा मृत्यु भएका चौधरीको परिवारलाई १० लाख दिने निर्णय पनि गरेको छ ।













