२७ कार्तिक ०७४, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उठेका उम्मेदवारमाथि एकपछि अर्को आक्रमण हुन थालेपछि सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन गम्भीर ध्यानाकर्षण गराएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आइतबार आयोगमा रक्षासचिव विनोद केसी, गृहसचिव मोहनकृष्ण सापकोटा, प्रहरी प्रमुख प्रकाश अर्याल, सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीप रेग्मीलाई आयोगमा बोलाई ध्यानाकर्षण गराएका हुन् ।
यादवले चुनाव नजिकिँदै जाँदा चुनाव भाँड्ने तत्वहरू झन् सक्रिय भई माओवादी केन्द्रका उम्मेदवारमाथि लगातार आक्रमणका प्रयास भइरहेकोले सुरक्षा प्रमुखलाई सुरक्षा चुस्त पार्न निर्देशन दिएका थिए ।
उनले उम्मेदवार, मतदाता र चुनावमा खटिने सबै कर्मचारीको सुरक्षा गर्ने दायित्व सुरक्षा निकायको भएको बताउँदै उच्च सतर्कतासाथ सुरक्षाकर्मी परिचालनमा गर्न प्रमुखहरुलाई जोड दिएका थिए ।
बैठकमा गृहसचिव सापकोटाले तीनवटै सुरक्षा निकायका प्रमुखलाई सुरक्षामा कुनै सम्झौता नगर्न सुझाएको जानकारी गराएका थिए । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले निर्वाचन हुने जिल्लाका प्रहरी प्रमुखलाई अन्य सुरक्षा निकायको समन्वयमा चुनाव भाँड्ने तत्वको निगरानी र धरपकडका लागि क्रियाशील रहन निर्देशन दिएको जानकारी यादवलाई गराएका थिए ।













