४ बैशाख ०७४, नेपालगञ्ज । गृहमन्त्री बिमलेन्द्र निधिले संघीय संरचना अनुसार प्रदेश अनुसारको सुरक्षा संयन्त्र निर्माण भै नसकेकाले सबै सुरक्षा निकायलाई पुरानै ढाँचामा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
सोमबार बिहान नेपालगन्जमा मध्यपश्चिम क्षेत्रीय सुरक्षा गोष्ठीको उदघाटन गर्दै गृहमन्त्री निधिले चार वटै सुरक्षा निकायलाई बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको सुरक्षामा केन्द्रित रहन निर्देशन दिँदै सो कुरा बताएका हुन् ।
मधेशी मोर्चाको असन्तुष्टिका बाबजुद निर्वाचन सम्पन्न गर्न पर्ने भएकाले सुरक्षा चुनौती थपिएको भन्दै निधिले निर्वाचनको सुरक्षा मतदान केन्द्रमा मात्र सिमित नभएर चौतर्फी सुरक्षाको प्रत्यभूति हुनुपर्ने कुरामा सचेत रहन निर्देशन समेत दिए ।
‘संविधान बिरोधी, भुमिगत समूह, निर्वाचनमा भाग नलिने घोषणा गरेका विभिन्न राजनीतिक पार्टी आदिको सुरक्षा थ्रेटलाई ध्यानमा राखेर सु्रक्षा चुस्त बनाउनु पर्नेछ ।’ उनले भने, ‘निर्वाचन सुरक्षालाई ध्यानमा राखेर निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचन पछिको सुरक्षा रणनीति र योजना बनाउने उद्देश्यले गोष्ठीको आयोजना गरिएकोले तपाईहरु आ-आफ्नो कार्यक्षेत्रमा रहेका सुरक्षा चुनौतीको विषयमा छलफल गर्दै निकास निकल्नु हुनेछ ।’
सुरक्षा गोष्ठीमा मध्यपश्चिमका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुख सहभागी रहेका छन् ।
।