४ मंसिर ०७४, काठमाडौंं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जनताले भयरहित वातावरणमा मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
सोमबार गृहमन्त्रालयद्वारा आयोजित प्रतिनिधिसभा र प्रदेश सदस्य निर्वाचन–२०७४ अन्तर्गत प्रदेश नं ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मतदान बिथोल्न खोज्ने समूहलाई असफल बनाइ जनतालाई सुरक्षाको प्रत्याभूति दिएर निर्धक्क रुपमा मतदान गर्ने वातावरण बनाउन निर्देशन दिएका हुन् ।
प्रम देउवाले वर्तमान संविधान लामो संघर्षपछि आएको चर्चा गर्दै संविधान कार्यान्वयनका लागि निर्वाचन महत्वपूर्ण रहेकोले सबै सुरक्षा निकायले सुरक्षा प्रणालीमा तहगत निर्देशनलाई उचित रुपमा परिपालना गरेर काम गर्न सुझाएका थिए ।
गोष्ठीमा गृह सचिव मोहनकृष्ण सापकोटाले निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न निर्वाचन अघि, निर्वाचनमा र निर्वाचनपछिका तिनै चरणमा सुरक्षा दिनका लागि सुरक्षा योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न निर्देशन दिए ।
कार्यक्रममा मध्यमाञ्चलन क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले यस क्षेत्रका सबै जिल्लाको सुरक्षा व्यवस्थाको अवस्था र निर्वाचनको सुरक्षाका लागि तयार गरेका योजनाका बारेमा जानकारी गराएका थिए ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न बनाइएको सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्ने, निर्वाचन सुरक्षामा देखिएको चुनौती, समस्या र समाधानको उपाय खोज्ने सन्दर्भमा छिमेकी जिल्लाको कार्यनीति र व्यवस्थापनको बारेमा अनुभव आदानप्रदान समेत भएको थियो ।
प्रदेशनम्बर ३ अन्तर्गत दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला पर्दछन् ।
गोष्ठीमा गृहमन्त्रालयका सचिव सापकोटा, नेपाली सेनाका बलाधिकृतरथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक दिलीप रेग्मी, प्रदेश नं ३ का प्रमुख जिल्ला अधिकारी तथा रक्षा र गृहमन्त्रालयका उच्च अधिकृत सहभागी थिए ।
गोष्ठीमा सबै जिल्लाका सुरक्षा अधिकारीले सुरक्षाको अवस्था, चुनौती र समाधानका उपायका बारेमा जानकारी समेत गराएका थिए ।













