१३ भदौ ०७६, काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाको कान्जी हाउसबाट दैलेख लगिएका २३ वटा गाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कट्कुवामा मृत भेटिएका छन् ।
छाडा चौपाया नेपालगंजबाट नियन्त्रणमा लिएर बिहीबार राति ८ वटा ट्रकमा लगिएका २ सय ९१ वटा गाईमध्ये वीरेन्द्रनगरस्थित कटकुवाको जंगलमा करिब दुई दर्जन गाई मृत भेटिएका हुन् । भीरबाट खसालिएका मध्ये डेढ सय भन्दा बढी गाई घाइते छन् ।
स्थानीय बासिन्दाले भीरबाट खसालेर सामूहिक गौहत्या गरिएको आरोप लगाएका छन् । ट्रकमा राखेर ल्याइएका गाई भीरबाट खसालेर मारिएको र जंगलमा अलपत्र अवस्थामा छाडिएको भन्दै दोषीलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।
करिब तीन सयको संख्यामा गाई भीरबाट खसालिएको र जंगलमा छाडिएको भेटिएपछि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।













