८ बैशाख ०७७, काठमाडौं । अखिल नेपाल सेक्युरिटी मजदुर संघले सेक्युरिटी मजदुरहरु दोहोरो चुपेवामा परेको बताएका छन् ।
कोरोना महामारीका कारण विश्वभर लाखौं मजदुरहरुका रोजगारी गुम्ने र भोकभोकै बस्नु पर्ने स्थिति सिर्जना भएको भन्दै सोमबार संघका अध्यक्ष लक्ष्मी ढकालले सेक्युरिटी मजदुरहरु दोहोरो चुपुवामा परेको बताएका हुन् ।
‘सेक्युरिटी मजदुरले ड्युटीमा आउँदा जाँदा बाटोमा अनेकन समस्या झेल्नु पर्दछ” अध्यक्ष ढकालले भने, “पोष्टमा पुगेपछि मालिकले बाहिरबाट आएको भनी भनेर रोकिदिन्छ, ड्युटीबाट डेरामा फर्कंदा घरधनीले बाहिर हिँडडुल गरेर आएको भनेर भित्र पस्न नै रोकिदिन्छ ।”
उनले रातदिन नभनी निजी सुरक्षाको जिम्मेवारी लिएर खटिएका सेक्युरिटी मजदुरहरुको स्वास्थ्य सुरक्षा उच्च जोखिममा रहेको भन्दै निजी तथा सरकारी, बैंक, वित्तिय संघसंस्था, होटल अस्पताल, सुपर मार्केट, कलकारखाना लगायतका क्षेत्रमा कार्यरत मजदुरहरुलाई अहिलेसम्म आधारभूत स्वास्थ्य सुरक्षाको प्रबन्ध नगरिएको बताएका छन् ।
उनले सेक्युरिटी मजदुरलाई ड्युटी आवतजावत गर्दा मास्क, पन्जा, कार्यस्थलमा हात धुने साबुन र सेनिटाइजरसम्म पनि रोजगारदाता र सम्बन्धित पक्षले उपलब्ध नगर्दा उनीस्हरु संक्रमणको उच्च जोखिममा रहेको बताए ।
कतिपय श्रमिक आपूर्तिकर्ताले लकडाउन भएसँगै मजदुरहरुलाई पोष्ट कटौतीका बहानामा निश्कासन गरिएको भन्दै व्यवसायीहरुलाई मजदुर कटौती नगर्न चेतावनी समेत दिएका छन् ।
डिलक्स, एनएक्स २ नेपाल कर्पोरेट लगायत कम्पनीहरुले फल्गुण र चैत्र महिनाको तलब सुविधा रोकेको भन्दै अध्यक्ष ढकालले अबिलम्ब यसअघि खाइपाई आएको सुविधा उपलब्ध गराउन आग्रह गरेका छन् ।
कोरोना संकटका बेला सेक्युरिटी मजदुरहरुलाई ड्युटी पोष्टमै खानेबस्ने व्यवस्थासँगसँगै आधारभूत स्वास्थ्य सुरक्षाका सामग्री तत्काल उपलब्ध गर्न गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत उनले गराएका छन् ।