सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनबाट तीन जना पक्राउ

८ बैशाख ०७४, चितवन । जिल्ला मालपोत कार्यालय चितवनबाट सेवाग्राहीसँग घुस लिएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

शुक्रवार दिउँसो प्रहरीले २ जना कर्मचारी र एकजना लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग ६ हजार ५ सय रुपैयाँ नगद लिएको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कार्यालयका सुव्बा मनोज निरौला, कम्प्युटर अपरेटर प्रदिप पौडेल र लेखापढी व्यवसायी फडिन्द्रराज तिवारी रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओमनारायण शर्मा, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु धिताल र सादा पोशाकमा रहेका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

इच्छाकामना गाउँपालिका-६ का इन्द्रबहादुर गुरूङको नाममा रहेको लालपुर्जा धनमाया गरूङको नाममा नामसारी गर्ने क्रममा उनीहरूले बिहीबार घुस मागेको आरोप लगाइएको छ ।

शुक्रवार लालपुर्जा लिन आँउदा काम नहुने भनेपछि गुरूङले प्रहरीमा उजुरी दिएका थिए ।

तपाइको मत