२२ जेठ ०७७, नुवाकोट । नेपाल विद्युत प्राधिकरणले सोलार आयोजनाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको छ ।
प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको हो ।
सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।
प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत् दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।
२५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाबाट घाम लागेको समयमा सोलार प्लान्टबाट विद्युत् उत्पादन हुनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको १० मेगावाट विद्युत् डेढ महिनाभित्रमा ग्रिडमा जोडिने जानकारी दिएका छन् ।
बैशाख महिनाभित्रै १५ मेगावाट ग्रिडमा जोड्ने गरी काम भइरहेको तर बन्दाबन्दीले निर्माण प्रभावित हुँदा केही ढिला भएको पनि उनले बताए ।
२०७५ बैशाखमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले यस आयोजनाको शिलान्यास गरेका थिए ।













