स्टिभ स्मिथ वर्षका सर्वोत्कृष्ट क्रिकेटर घोषित

८ पुस, काठमाडौं ।

अष्ट्रेलियाका क्रिकेट कप्तान स्टिभ स्मिथ सन् २०१५ का सर्वोत्कृष्ट क्रिकेटर घोषित भएका छन् । आईसीसी क्रिकेटर अफ दि इयर घोषित हुने उनी चौंथो अष्ट्रेलियन क्रिकेटर हुन् ।

Steve-smith

यसअघि अष्ट्रेलियाका रिकी पोन्टिङ (२००६ र २००७), मिचेल जोन्सन (२००९ र २०१४) र माइकल क्लार्क (२०१३) ले वर्ष क्रिकेटर घोषित भएर सर ग्यारीफिल्ड सोवर्स अवार्ड हात पारेका थिए । सन् २००४ बाट दिन थालिएको अवार्डका ११ संस्करणमध्ये ६ संस्करण अष्ट्रेलियनको हातमा परेको छ ।

स्मिथ यो वर्षका सर्वोत्कृष्ट टेस्ट ब्याट्सम्यान समेत घोषित भएका छन् । एकै व्यक्तिले सर्वोत्कृष्ट क्रिकेटर र सर्वोत्कृष्ट टेष्ट क्रिकेटरको अवार्ड जितेको यो सातौं पटक हो । भारतका राहुल द्रविण, अष्ट्रेलियाका रिकी पोन्टिङ, श्रीलंकाका कुमार सांगाकारा, अष्ट्रेलियाका माइकल क्लार्क र मिचेल जोन्सनले यसअघि यो सफलता हासिल गरेका थिए ।

१८ सेप्टेम्बर २०१४ देखि १३ सेप्टेम्बर २०१५ सम्म जारी रहेको मूल्यांकन अवधीमा न्यू साउथ वेल्सका २६ वषिर्य स्मिथले टेस्टमा एक हजार ७ सय ३४ रन बटुलेका थिए । उनले २५ इनिङ खेल्दा ८२ भन्दा बढिको औसतमा सात सतक र आठ अर्द्धसतक प्रहार गरे ।

यसैगरी यसबीच खेलेका २६ एक दिवसीयमा उनले झण्डै ६० को औसतमा एक हजार २ सय ४९ रन हाने, जसमा चार सतक र आठ अर्द्धसतक सामेल छन् । यसै वर्ष अष्ट्रेलियाले विश्वकपको उपाधी जित्दा उनको ब्याटिङ निकै चम्केको थियो ।

वर्ष क्रिकेटर घोषित भएपछि स्मिथले खुशी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘यति महान खेलाडीहरुको बीचमा मैले यो अवार्ड जित्नु गौरवको कुरा हो । यद्यपि, मेरो ध्यान सँधै व्यक्तिगत रेकर्डमा नभएर टोलीलाई जिताउनेमा केन्दि्रत रह्यो ।’

दक्षिण अफ्रिकाका स्टार ब्याट्सम्यान एबि डिभिलर्स एक दिवसीय तर्फको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । यो विधामा उनी विजेता बनेको यो लगातार दोस्रो पटक हो ।

उनकै टोलीका फाफ डु प्लेसिसलाई टि-२० तर्फ सर्वोत्कृष्ट छनोट गरिएको छ । गत जनवरीमा वेस्ट इन्डिज विरुद्ध ५६ बलमा ११९ हानेवापत उनले सो अवार्ड पाएका हुन् । इमर्जिङ क्रिकेटर अफ द इयर अवार्ड अष्ट्रेलियाकै जो ह्याजलउडको पोल्टामा परेको छ ।

महिला क्रिकेटतर्फ वर्षको एक दिवसीय क्रिकेटर र टि-२० क्रिकेटरमा क्रमशः अष्ट्रेलियाकी मेग ल्यानिङ र वेस्ट इन्डिजकी स्टाफानी टेलर चयन भएका छन् । एसोसिएट एन्ड एफलिएट क्रिकेटर अफ द इयरको अवार्ड यूएईका कप्तान खुराम खानले हात पारेका छन् । सर्वोत्कृष्ट अम्पायरको अवार्ड लगातार तेस्रो पटक रिचार्ड केटलबोरोको हातमा परेको छ ।

आगामी फेब्रुअरीदेखि क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका न्यूजिल्याण्डका कप्तान ब्रेन्डन म्याकुलमलाई स्पिरिट अफ क्रिकेट अवार्डबाट सम्मानित गरिएको छ ।

अवार्ड पाउनेहरु

आइसीसी क्रिकेटर अफ द अवार्डः स्टेभन स्मिथ (अष्ट्रेलिया)

टेस्ट क्रिकेटर अफ द इयरः स्टेभन स्मिथ (अष्ट्रेलिया)

ओडिआई क्रिकेटर अफ द इयरः एबी डिभिल्लर्स (दक्षिण अफ्रिका)

ओडिआई क्रिकेटर अफ द इयर -महिला): मेग ल्यानिङ (अष्ट्रेलिया)

टि-२० क्रिकेटर अफ द इयर -महिला): स्टाफानी टेलर

टि-२० पर्फमेन्स अफ दि इयरः फाफ डु प्लेसिस (दक्षिण अफ्रिका)

इमर्जिङ क्रिकेटर अफ द इयरः जोस ह्याजलउड (अष्ट्रेलिया)

एसोसिएट/एफिलिएट क्रिकेटर अफ द इयरः खुराम खान (यूएई)

स्पिरिट अफ क्रिकेट अवार्डः ब्रेन्डन म्याकुलम (न्यूजिल्याण्ड)

अम्पायर अफ द इयरः रिचार्ड केटलबोरो

अनलाइनखबरमा खबर छ ।

तपाइको मत