स्थानीय तहको चुनाव छाडेर व्यापार : शनिबार बन्द रहने स्थानीय पसल पनि खुल्ला,

पेन्सन क्याम्पमा व्यापार ओरालो लाग्दै

हुमाकान्त पोखरेल

ex-indian-gorkha-soldiersd

९ जेठ ०७४, गुल्मी । हरेक वर्षको बैशाख र मंसिर महिना गरी दुई पटक पूर्व भारतीय पेन्सनरहरु गुल्मी, अर्घाखाँची, प्यूठान, बाग्लुङ लगायत जिल्लाबाट तम्घासमा पेन्सन लिन आउने गर्दछन् ।

यसवर्ष पनि पेन्सनहरु २८ बैशाखबाट गुल्मीको सदरमुकाम तम्घासमा पेन्सन बुझ्न आउन थालेका छन् ।

यहाँ हरेक वर्षको बैशाख र मंसिर गरी दुई पटक पेन्सन वितरण हुने गर्दछ । यही पेन्सनलाई लक्षित गरी देशका विभिन्न स्थानका साथै भारतबाट समेत ब्यापार गर्न व्यापारीहरु तम्घास आउने गर्दछन् ।

खासगरी गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, बाग्लुङ, स्याङ्जा, कपिलबस्तु, बुटबल साथै भारतका नाकाहरु सुनौली, रक्सौल, भारतको विहार लगायतका स्थानबाट व्यापार गर्न आएको पाइन्छ ।

कपडा, जुत्ता, चप्पल, सुनचाँदि, सिद्रा, नरिवल, विभिन्न प्रकारका खाद्य सामाग्री, फेन्सी आइटम लगायतका वस्तुहरु बिक्रीका लागि राखिन्छ ।

भारतबाट पनि व्यापारको लागि गुल्मी

pension 3

हाल नेपालका अधिकांश युवाहरु कामको खोजीमा भारत छन् । त्यसकारण सबै नेपालीले भन्छन् कि भारतमा काम पाइन्छ र त्यहाँ कुनै पनि बेरोजगार छैन । तर त्यो गलत हो ।

भारतको विहारमा घर भएका नन्दु गुप्ताले पनि कपडा पसल लिएर ब्यापार गर्न जिल्लाको सदरमुकाम तम्घास आएका छन् ।

पेन्सन वितरण अवधिभर गुल्मीको सदरमुकम तम्घासमा कपडा पसल गर्न लागेको झण्डै १० बर्ष भएको उनी बताउँछन् । तर, पहिलेको तुलनामा अहिले व्यापार घट्दै गएको उनको भनाई छ ।

‘पहिले पहिले पेन्सन अवधिभर खर्च कटाएर ४० हजार जति नाफा हुन्थ्यो ।’ गुप्ताले भने, ‘तर अहिले व्यापार दिन प्रतिदिन घट्दै गएको छ ।’

त्यस्तै भारतकै मोतिहाराबाट व्यापार गर्न आएका ब्यापारी पालादोले पेन्सन अवधिभर गुल्मीमा ब्यापार गर्न लागेको ९ बर्ष भएको बताए ।

उनले जिरा, मसला, नरिवल लगायतका दैनिक उपभोग्य वस्तुको बिक्री गर्छन ।

‘स्थानीयस्तरमै बढी पसलहरु खुल्न थाले, पेन्सनरहरु पनि बिहान गाडीमा आएर बेलुका फर्किन्छ, उनीहरुसँग किनबेच गर्ने समय नै हुँदैन ।’ उनले भने ‘त्यसैमाथि बन्द हड्ताल र मौसमको चुनौति छ ।’

स्थानीय ब्यापारी पनि सोल्जरबोर्डमै

गुल्मी जिल्लाभित्रै व्यापार गर्ने व्यापारीहरु पनि बढी फाइदाको आशाले पेन्सन वितरण गर्ने स्थानको नजिक जान थालेका छन् ।

खासगरी तम्घासमै व्यापार गर्दै आएका ब्यापारीहरु पनि पेन्सन अवधिभर बाख्रेछेडा नजिकमा आफ्नो पसल राख्ने गर्दछन् ।

तम्घास पुरानो बजारमा कस्मेटिक पसल गर्ने मनु केसीले भनिन्, ‘अघिल्ला वर्षहरुमा जति राम्रो व्यापार छैन्, सोचेको सामान पनि बिक्री भएन् । यहाँको पैसा त भाडा तिर्दैमा ठिक्क हुन्छ होला जस्तो छ ।’

जिल्लाको साविकको जुभुङ्ग गाविस ५ का मोहन थापाले तम्घासको पुरानो बैङ्गरोडमा कपडा तथा फेन्स पसल गर्छन् । गत ५ बर्षदेखि पेन्सन अवधिभर आफ्नो पसलको सामाग्रीलाई बाख्रेछेडा नजिकै राख्ने गरेका थापाले बताए ।

अहिले स्थानीय तहको चुनाव भएकाले जिल्लाका धेरैजसो नेता तथा कार्यकर्ता गाउँमै भएको, स्थानीयस्तरमै पसलहरु खुलेको, बेलाबेलामा पानी परेको, बन्द हडताल लगायतका कुराहरुले गर्दा आफूहरुको व्यापारमा कमी आएको थापाको भनाई छ ।

‘अहिले सोचेजति नाफा त नहुने भयो, पुराना सामान बिक्री हुन्छ कि भन्ने आशा छ ।’ उनले भने ।

जिल्ला सदरमुकामकै नयाँबजारमा कस्मेटिक पसल गर्ने रितादेवीले राम्रै व्यापार हुने आशाले पसल राखेकी बताइन् । ‘राम्रै व्यापारको आशाले केही समयको लागि भएपनि पसल यहाँ राखेकी हुँ ।’ रितादेवीले भनिन् ‘तर अहिले ब्यापारको आशा हराउँदै गएको छ, सोचे जति नाफा नहुने भयो ।’

छिमेकी जिल्लाका व्यापारीको पनि व्यापार घट्यो
नवलपरासीबाट व्यापार गर्न आएका विन्द्रय जयसवालले पनि पहिले जस्तै राम्रो ब्यापार नभएको बताए ।

जाडो महिनामा राम्रो कमाई भएपनि अहिले गर्मीको मौसममा खासै ब्यापार नहुने उनको प्रतिक्रिया छ ।

त्यस्तै नवलपरासी अरुढखोलाबाट कपडा पसल लिएर आएका जित बहादुर पाल्पालीले सुनचाँदिको पसल राखेका छन् ।

मंसिरमा बिहेको लगन पर्ने भएकाले धेरै गहनाहरु बिक्री हुने भएपनि अहिले त्यक्ति राम्रो व्यापार नभएको उनको भनाई छ ।

सुनचाँदिको पसलबाट १२ दिनको अवधिमा २ लाख कमाउने गरेका पाल्पालीले यो बर्ष भने सोचेजति कमाई नहुने बताए ।

चुनाव छाडेर व्यापार

सबै नेता तथा कार्यकर्तालाई यतिबेला चुनावले छोएको छ, राजनीतिक दलका नेताहरु चुनावी हिसाबमा लागिरहेका छन् ।

अझ भन्नुपर्दा, चुनाव सम्पन्न भइसकेपछि हार वा जितको गणितमा राजनीतिक दलका केन्द्रदेखि स्थानीयस्तरका नेताहरु छन् ।

भोट हाल्न र आफूले चाहेको व्यक्ति जिताउन भन्दै देश तथा विदेशमा रहेका अधिकांश मतदान केन्द्रमा पुगेका छन । तर, चितवन माढी नगरपालिकाका उमेश गुप्ता भने स्थानीय तहको चुनावमा भोट हाल्न छोडेर व्यापार गर्न भन्दै गुल्मीको सदरमुकाम तम्घास आएका छन् ।

फेन्सी पसल लिएर पेन्सन वितरण अवधिभर तम्घासमा व्यापार गर्न लागेको झण्डै १२ बर्ष भएको उनको कथन छ ।

बालबच्चा पाल्नु पर्ने बाध्यता रहेको भन्दै उनले चुनावमा नेतालाई भोट दिएर आफ्नो जिवनशैली परिवर्तन नहुने भन्दै व्यापार गर्न आएको बताए ।

बालबच्चा पाल्नु पर्ने बाध्यता रहेको भन्दै उनले चुनावमा नेतालाई भोट दिएर आफ्नो जिवनशैली परिवर्तन नहुने भन्दै व्यापार गर्न आएको बताए ।

‘जिवनमा धेरै पटक भोट दिइयो, जसलाई दिए पनि उस्तै हो, केही विकास भएन् ।’ उनले भने ‘आफ्नो जिविका त चलाउनै प¥यो, त्यसैले राजनीतिक दल कसैलाई पनि नभनीकन ब्यापार गर्न आएको हुँ ।’

चितवनमा ३१ बैशाखमा हुने पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।

शनिबार बन्द रहने स्थानीय पसल पनि खुल्ला
गुल्मी उद्योग बाणिज्य संघको आग्रहमा यहाँ प्रत्येक शनिबार सम्पूर्ण पसल तथा उद्योग, कलकारखानाहरु बन्द हुन्छन् ।

तर, पेन्सन वितरण अवधिभर तम्घास बजार खुल्ला हुने गर्दछ । बाहिरबाट आएका व्यापारीसँगै यहाँका स्थानीय ब्यापारीले पनि पेन्सन वितरणको फाइदा उठाउन भन्ने उदेश्यले शनिबार पनि पसल खोल्न छुट दिइएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए ।

पछिल्लो समय तम्घासमा पनि खासै राम्रो व्यापार नभएको भन्दै उनले यस अवधिमा ब्यापारीलाई पनि केही राहात हुने आशाले पसलहरु खुला गरिएको जानकारी दिए ।

‘पेन्सन लिन टाढा–टाढाका मानिसहरु आएका हुन्छन् ।’ उनले भने ‘उनीहरुले बजारमा केही रकम खर्च गरे भने पनि स्थानीय व्यापारीलाई टेवा पुग्नेछ ।’

तपाइको मत