३१ भदौं ०७४, काठमाडौं । असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको हो ।
प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, बारा र धनुषामा असोज २ गते १३६ स्थानीय तहका लागि निर्वाचन हुँदैछ । यो प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । निर्वाचनमा छ हजार ६०० पदका लागि ३६ हजार ३१८ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । २ नम्बर प्रदेशमा जम्मा २६ लाख ९५० मतदाता र तीन हजार ५७८ मतदान केन्द्र रहेका छन् ।
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसनधान विभाग गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिने जानकारी दिँदै उहाँले निर्वाचनमा सुरक्षा व्यवस्थामा कहीँ कतै कमजोरी नरहेकाले मतदाताहरु ढुक्क भएर मतदान केन्द्रसम्म पुग्ने वातावरण रहेको बताए ।
प्रवक्ता सुवेदीले केन्द्रीय तहमा गृहमन्त्रीको नेतृत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनाएर सुरक्षा निकाय परिचालन भएका जानकारी दिए । उनले निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा गर्नेछ जसमा जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहने जानकारी दिए ।
त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिने भएको छ ।
सीमा नाका बन्द
निर्वाचनलाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि नै निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा ७२ घण्टा सीमा नाका बन्द गरिएको छ । खुला सीमाको फाइदा उठाउँदै हात हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिन सक्ने सभ्भावना बढी हुनाले नाका बन्द गरिएको हो ।
प्रवक्ता सुवेदीले निर्वाचन हुने समय शुक्रबार राति १२ बजेदेखि असोज २ गते राति १२ बजे सम्मका लागि ७२ घण्टा लागि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको जानकारी दिए । निर्वाचन भइरहेका आठ जिल्ला भारतसँग सीमा जोडिएकाले सीमामा केही दिनदेखि नै विशेष निगरानी बढाइएको थियो ।
अवैध हातहतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपाल प्रवेश गर्न लागेमा तालीम प्राप्त कुकुरले सुघेर पत्ता लगाउने भएकाले सबै सीमा नाकामा तालीम प्राप्त कुुकुर परिचालन गरिएका छन् ।
दुई हेलिकप्टर तयारी अवस्थामा
निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा एउटा र बारा–पर्साको बीचमा एउटा गरी दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । यस्तै नेपाली सेनाको बाहिनी र केन्द्रमा समेत थप हेलिकप्टर तयारी अवस्थामा राखिएको गृह प्रवक्ता सुवेदीले जानकारी दिए ।













