२४ चत्र ०७४, पाल्पा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय संरचनाका कामलाई चुस्त बनाउन कुनै पनि स्थानीय तहमा कर्मचारीको अभाव हुन नदिने बताए ।
मन्त्री पण्डितले देश संघीय संरचनामा गएको हुँदा कर्मचारी अपुग जस्तो महसुस छ तर असार मसान्तसम्म कर्मचारी मिलानको काम सकिएपछि कर्मचारीको अभाव नहुने बताएका हुन् ।
शनिबार पाल्पा जिल्लालाई ४८ औं खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्दै राजनीतिक होइन अहिले कर्मचारीको संक्रमणकाल सुरु भएकाले यतिबेला विभिन्न व्यक्तिको चलखेल भइरहेको बताउँदै मन्त्री पण्डितले भने- ‘विगतका असहज परिस्थिति पार गरेकाले कर्मचारीको अप्ठेरो केही होइन । अब राजनीतिक संक्रमणकाल अन्त्य भएकाले अन्य छिर्के लगाउनेहरुको केही चल्दैन ।’
मन्त्री पण्डितले अबका दिनमा जनताको काम नगरी दिन बिताउन खोज्ने कर्मचारीको समय पनि सकिएको बताए ।
राष्ट्रसेवक कर्मचारीलाई काम नगर्नेलाई दण्डित र काम गर्नेलाई पुरस्कार गर्ने नीति आफुले लिएको बताउँदै पहिला कर्म त्यसपछि फलको आस गर्न सुझाव दिए । उनले भने -‘अब बढी दरबन्दी भए काट्ने र दरबन्दी नभएपनि थुप्रिएर बसेका कर्मचारीलाई कार्य स्थलमा पठाउनेछु ।’
उनले राष्ट्रसेवक कर्मचारीहरुको साथ लिएर देशलाई समृद्धिको बाटोमा लैजान जनप्रतिनिधिहरुलाई आग्रह गर्दै भने- ‘केन्द्रीकृत प्रशासनिक संक्रमण समाप्त हुनेछ । चिन्ता नगर्नुस् ।’













