१५ असोज ०७७, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले स्थानीय तहलाई पत्राचार गरेर आफू खुशी विद्यालय सञ्चालन नगर्न सचेत गराएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्कुल, कलेज लगायत मनोरञ्जनका क्षेत्रहरुलाई सरकारले खुला नगरेकाले मन्त्रिपरिषद्को निर्णय विपरीत गर्न परिपत्र गरेर सचेत गराइएको जानकारी दिए ।
सरकारले बन्देज लगाएको गतिविधि गर्नु गैरकानुनी रहेको भन्दै उनले बुधबार स्थानीय तहलाई परिपत्र गरेर महामारी बढिरहेको अवस्थामा विद्यालय सञ्चालन नगर्न आग्रह गर्दै कोही कसैले सरकारको निर्णयविरुद्ध गए दण्डनीय हुने बताए ।