स्थानीय तह पुनर्संरचना अवैज्ञानिक भएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइयो

DSC09942

७ चैत्र, सप्तरी । स्थानीय तह पुनर्संरचना गर्दा राजविराज नगरपालिकामा अव्यवहारिक र अवैज्ञानिक ढंगले गाविसहरु समाहित गरिएको भन्दै यहाँ तीब्र असन्तुष्टि देखिएको छ ।

यसैक्रममा सोमबार स्थानीयले त्रूटिपूर्ण पुनर्संरचना सच्याउनु पर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए । उनीहरुले पुनर्संरचना नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नगरपालिकामा हाल समावेश गरिएका कतिपय विकट गाविस र वडाका कारण अस्तित्व नै संकटमा पर्ने ठहर गर्दै आइतबार बसेको नगरवासीको वृहत भेलाले पूर्व मेयर शैलेश चौधरीको संयोजकत्वमा १ हजार १ सदस्यीय ‘राजविराज नगर सिमांकन सुधार संघर्ष समिति’ गठन गरी दबाब मुलक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

सोही अनुरुप पहिलो चरणमा प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने काम भएको संघर्ष समितिका संयोजक चौधरीले बताए ।

ज्ञापन पत्रमा पूर्वमा खाडो खोलाभन्दा पश्चिम, उत्तरमा बसविट्टि गाविसको सीमादेखि औद्योगिक क्षेत्रसम्म, पश्चिममा घोडदह नीदेखि पूर्व र दक्षिणमा ईटहरी विष्णुपुर गाविसको पश्चिम कोशी नहरदेखि उत्तरको भाग मात्र राजविराज नगरपालिकामा गाभिनु पर्ने माग अघि सारिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर कटवालले सो ज्ञापन पत्र तत्कालै प्रधानमन्त्रीको कार्यालय पठाउने जानकारी दिए ।

तपाइको मत