स्थानीय प्रा.लि.हरुलाई यातायात मजदुर संघ कास्कीको ६ बुँदे माग पत्र

७ साउन ०७७, कास्की । अखिल नेपाल यातायात मजदुर संघ कास्कीले जिल्लामा रहेका यातायात प्रा.लि.हरुलाई ६ बुँदे माग पत्र बुझाएका छन् ।

यातायात मजदुर संघ कास्कीले यस क्षेत्रमा कार्यरत श्रमिक (चालक, सहचालक, हेल्पर, चेकिङ्ग, बुकिङ्ग, कलर्क) हरुलाई स्वास्थ्य सुरक्षासहित सेवा सञ्चालनको वातावरण गराउन भन्दै स्थानीय प्रा.लि.हरुलाई मंगलबार ६ बुँदे माग पत्र पेश गरेका हुन् ।

अखिल नेपाल यातायात मजदुर संघका प्रदेश उपाध्यक्ष विवेक भुजेल, सचिव रमेश कोइरालाको विशेष उपस्थितिमा गएको यातायात मजदुर कास्की जिल्ला अध्यक्ष सन्तोष खनाल, कोषाध्यक्ष राजु बयलकोटी, सदस्य यादवप्रसाद कोइरालाले टोलीले यातायात प्रा.लि.हरुलाई माग पत्र बुझाएका हुन् ।

संघले यातायात प्रा.लि.लाई पेश गरेको ६ बुँदे माग पत्रमा यस क्षेत्रमा कार्यरत मजदूरहरूलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नु पर्ने, सेवा सञ्चालनकाक्रममा सेनिटाइजर, माक्स लगायतका स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउनु पर्ने, दुर्घटना विमासरह कोभिड–१९ बिमाको व्यवस्था गर्नुपर्ने, नियुक्ति पत्र पाउनु पर्ने, लकडाउन अवधिको पारिश्रमिक पाउनु पर्ने लगायतका माग पुरा गर्नुपर्ने उल्लेख गरेका छन् ।

हाल कास्कीमा पोखरा यातायात प्रा.लि., पृथ्वी बस सञ्चालक प्रा.लि., गण्डकी ढुवानी प्रा.लि., पोखरेली ट्याक्सी प्रा.लि., कास्की जिल्ला यातायात समन्वय समिति, स्थानीय यातायात प्रा.लि., गण्डकी ट्रक संघ पोखरा, गण्डकी ट्याक्सी पब्लिक प्रा.लि., फेवा बस प्रा.लि., गण्डकी ट्याक्टर तथा मिनी ट्रक यातायात प्रा.लि., बिन्दवासिनी बस प्रा.लि., बेगनास ताल बस प्रा.लि. साथै दुध पोखरी यातायात प्रा.लि. सञ्चालनमा रहेका छन् ।