ठूलो भर्‍याङबाट लाइसेन्स वितरण !

yatayat-office-thulo-bharyang-swoyambhu१७ पुस, काठमाडौं । सरकारले आइतबारदेखि स्वयम्भु ठूलोभर्‍याङबाट पनि लाइसेन्स वितरणको काम सुरु गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आइतबार बिहान ठूलो भर्‍याङस्थित यातायात कार्यालयको उदघाटन गरे ।

यातायात कार्यालय उदघाटन गर्दै मन्त्री लेखकले यातायात क्षेत्रमा सुधारको काम थालनी भइसकेको बताए । लेखकले देशभरका यातायात कार्यालयमा अनलाइन आवेदन फारमको व्यवस्था मिलाइने भन्दै दर्ता र नविकरणको काम पनि अब अनलाइनमार्फत् नै गर्ने घोषणा गरे ।

उनले अनलाइनबाट आवेदन लिन सुरु गरिसकेको र काठमाडौंमा यातायातका थप कार्यालय खुल्ने प्रक्रियामा रहेको जानकारी दिए । अनलाइन प्रणालीमा काम भए पनि सेवाग्राहीले कर्मचारीलाई रिझाएर काम गराउनु पर्ने बाध्यता हट्ने मन्त्री लेखकको विश्वास छ ।

स्वयम्भु ठूलोभर्‍याङका यातायात व्यवस्था विभागका निर्देशक निरञ्जन रिजालले आफू मातहतको ट्रायल सेन्टर नभएकाले सुरुवातमा यो कार्यालयले लाइसेन्स नवीकरणको काम गर्ने र लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन बुझ्ने बताए ।

स्वयम्भु कार्यालय खुलेपछि ललितपुरको एकान्तकुनास्थित यातायात ब्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता हटेको छ भने अब छिट्टै भक्तपुरको सल्लाघारी र काठमाडौंको चाबहिलमा पनि लाइसेन्स वितरण गर्ने कार्यालय खुल्ने छन् । यसका लागि घर भाडामा लिएर विभागले फर्निसिङको काम गरिरहेको छ ।

तपाइको मत