स्वास्थ्यमन्त्री पोखरेल वीर अस्पताल चारदिनदेखि भर्ना

१४ भदौ ०७४, काठमाडौं । केही दिन अघिदेखि अस्वस्थ भएपछि वीर अस्पताल पुगेर स्वास्थ्यमन्त्री गिरिराजमणिले उपचार गरेका छन् ।

स्वास्थ्यमन्त्री पोखरेललाई टाइफाइड  र निमोनियाको पनि लक्षण देखिए पछि उपचारका लागि आइतबारदेखि  वीर अस्पतालको  भिआईपी कक्षमा भर्ना भएका हुन् ।

भिभिआइपि र भिआइपि दुवै खाले व्यक्तिलाई वीरमा निःशुल्क उपचार हुन्छ । उनीहरुले परीक्षणका लागि सर्वसाधारणले झैं पालो कुर्नु  पर्दैन । उनीहरुले गर्नुपर्ने र अस्पतालले दिनसक्ने सबै उपचार सुविधा नि:शुल्क हुन्छ ।

वीरमा एउटा भिभिआइपि र एउटा भिआइपि उपचार कक्ष छन् । वीरको यो सेवा निकै पुरानो हो । भिभिआइपि र भिआइपि उपचार कक्षमा चारवटा बेग्लाबेग्लै कोठा छुट्याएर व्यवस्थित बनाइएको छ । बिरामी भेट्न आउनेका लागि आगन्तुक कक्ष, बिरामी कुर्न बस्नेका लागि कुरुवा कक्ष, सुरक्षामा खटिने सुरक्षाकमीका लागि सुरक्षा कक्ष र भेटघाट कक्ष गरी चार कोठा छुट्याइएका छन् । अट्याज बाथरुमसहितका कोठा छन् ।

भिभिआइपि र भिआइपि उपचार कक्षमा सुविधा थोरैमात्रै फरक छ । भिआइपिमा उपचार र कुरुवाका लागि एउटै कोठा छ भने अर्को एउटा पाहुनाका लागि छ । दुवैका लागि भेट्न आउनेहरुका लागि चिसो र तातो पानीको व्यवस्था छ भने चिया–कफीको व्यवस्थापन पनि अस्पतालले नै गर्छ ।

वीरको भिभिआइपि उपचार कक्षमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, वहालवाला राष्ट्रपति तथा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, वहालवाला प्रधानमन्त्री, पूर्वसभामुख र उपसभामुख तथा वहालवाला सभामुख र उपसभामुख, वहालवाला प्रधानन्यायधिशले उपचार पाउँछन् ।

यसैगरी भिआइपि कक्षमा मन्त्री, संवैधानिक निकायका प्रमुख, न्यायधीश, राज्यमन्त्री, सरकारका विशिष्ट श्रेणीका कर्मचारी तथा वर्तमान सांसदले उपचार पाउँछन् । विशिष्ट कक्षमा उपचार गर्न पछिल्ला दिनमा महिला सांसदहरु कमलादेवी महतो, अम्बिका खवास चौधरी र कमला शर्मा लगायतले सेवा लिएका छन् ।

यसबाहेक नेताहरु उपचारमा आए क्याविनको सुविधा मात्रै पाउँछन् । क्याबिनको शुल्क पनि लाग्ने गर्छ । तर, नेताहरुले क्याबिनमा तिरेको बिल भरपाई सरकारमा पेश गरेर रकम असुल्ने गरेका छन् ।

तपाइको मत