काठमाडौं । स्वास्थ्य चौकी निर्माणका लागि सप्तरीको मधुवापुरमा शैलेन्द्रचन्द्र झा र सञ्जु झाले रु. एक करोड मूल्य बराबरको सात कट्ठा जग्गा दान गरेका छन् ।
सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिका–४ मधवापुरस्थित जिल्ला पञ्चायतका पूर्वसभापति स्व.कृष्णदेव झाको स्मृतिमा कान्छा छोरा शैलेन्द्रचन्द्र झा र बुहारी सञ्जु झाले स्वर्गीय झाको पुख्र्यौली गाउँमा स्वास्थ्य चौकी निर्माणका लागि सो जग्गादान गरेका हुन् ।
जग्गादाता शैलेन्द्रले आफ्नो गाउँ र वरिपरिको बासिन्दाले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले जग्गादान गरेको बताए ।
यस्तै शहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरीका इञ्जिनियर कमलप्रसाद भट्टराइले दुई करोड ४२ लाख ८० हजारको लागतमा बन्न लागेको स्वास्थ्य चौकी एक वर्षभित्र निर्माण हुने जानकारी दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानबहादुर बस्नेतले स्वास्थ्य चौकी निर्माण भएपछि बर्थिङ सेन्टर निर्माणका लागिसमेत पहल गरिने बताए ।