स्वास्थ्य मन्त्रालय र प्याब्सनबीच पेय पदार्थ र जंक फुड र नर्स राख्ने विषयमा सम्झौता

१८ जेठ ०७४, काठमाडौं । स्वास्थ्य मन्त्रालय र निजी विद्यालयहरुको छाता संस्था प्याब्सनबीच निजी विद्यालयहरुमा विद्यालय हाताभित्र पेय पदार्थ र जंक फुडमा प्रतिवन्ध लगाउने र अनिवार्य नर्स राख्ने विषयमा  सम्झौता भएको छ ।

बुधबार विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सुचना केन्द्रद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका तर्फबाट राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका निर्देशक बद्रीबहादुर खड्का तथा प्याब्सनका तर्फबाट प्याब्सनका अध्यक्ष विजय साम्बाहाम्फेले उक्त सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

सम्झौता पत्रमा मेरो वर्ष अभियानको ५ प्रतिवद्धतालाई प्रवर्द्धन गरी बालबालिकाहरुमार्फत घर परिवारसम्म पुर्‍याई व्यवहार प्रवर्द्धन तथा अवलम्बन गर्न अभिप्रेरित गर्ने, एक विद्यार्थी एक खेलकुद भन्ने नाराका साथ प्रत्येक विद्यार्थीलाई कुनै एक खेलकुदमा सहभागी गराउने, विद्यालय हाताभित्र गुलियो पेय पदार्थ तथा जंकफुड प्रवेशमा रोक लगाउने तथा अभिभावकलाई पोषिलो खानेकुरा पठाउन जोड दिने, प्रत्येक विद्यालयमा एक नर्स वा स्वयंसेविकाको व्यवस्था गर्ने उल्लेख छ ।

त्यसैगरी, मन्त्रालयका तर्फबाट विद्यार्थीको व्यवहार परिवर्तनका लागि आवश्यक चेतनामुलक अध्ययन सामग्री उपलब्ध गराउने तथा स्वास्थ्य जाँच र परीक्षणका लागि स्थानीय स्वास्थ्य संस्थाहरुलाई सहयोग गर्न निर्देश गर्ने तथा विद्यालयमा कार्यरत नर्सको क्षमता अभिवृद्धिका लागि अभिमुखी तालिमको व्यवस्था गर्ने सहमति भएको छ ।

सहमतिबारे बोल्दै प्याव्सनका अध्यक्ष  सम्बाहाम्फेले सम्झौता कार्यान्वयन गर्ने विषयमा प्याव्सनको सदस्य रहेकेा ७३ वटै जिल्ला समितिहरुलाई कार्यान्वयन गर्न सूचना जारी गरिसकेको जनाउँदै यसलाई पूर्णतया कार्यान्वयनमा ल्याइने प्रतिवद्ध व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्यमन्त्री गगन थापालेे सबैस्तरका विद्यालयहरुमा एक नर्स राख्ने अवधारणा अनुसार यसै वर्षदेखि सरकारी विद्यालयहरुमा यसलाई लागू गरिने बताउँदै, सरकारी विद्यालयहरुमा एक नर्सको अवधारणा कार्यान्वयनका लागि अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा समेत बजेट विनियोजन गरेको र यसलाई विश्वविद्यालयस्तरमा लैजान पनि मन्त्रालयबाट आवश्यक पहल भैरहेको जानकारी दिए ।

उनले सुर्तीजन्य पदार्थको प्रयोगलाई पूर्णतया निस्तेज पार्नको लागि पनि उनले सुरुमा यसको प्रयोगलाई घटाउँदै लैजाने र विस्तारै प्रतिवन्धको अवस्थामा लैजाने बताए ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले सुर्तीजन्य पदार्थको मूल्य बढाउन सकिएमात्र त्यसलाई प्रतिवन्धतिर लैजान सकिने बताउँदै यसमा लागेको कर अझ बढाउन जोड दिए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. भीम आचार्य, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि जोन भोलुनर, क्यान्सर रिलिफ सोसाइटी लगायतका प्रतिनिधिको समेत उपस्थिति थियो ।

 

तपाइको मत