स्वास्थ्य श्रमिक संघ कान्तिपुर अस्पतालविरुद्ध संघर्षमा जाने

७ असार ०७७, काठमाडौं । कान्तिपुर अस्पताल प्रा.लि.लाई श्रमिक तथा कर्मचारीका जायज मागहरु पूरा गर्न अखिल नेपाल स्वास्थ्य श्रमिक संघ कान्तिपुर अस्पताल मूल इकाई कमिटीले दिएको ७ दिनको अल्टिमेटम पूरा भएको छ ।

अखिल नेपाल स्वास्थ्य श्रमिक संघकी केन्द्रीय अध्यक्ष निशा खरेलले श्रमिक तथा कर्मचारीहरुका जायज मागलाई अस्पताल प्रशासनले नसुनेको भन्दै पहिलो चरणमा अखिल नेपाल स्वास्थ्य श्रमिक संघ कानुनी संघर्षमा जाने बताइन् ।

“कान्तिपुर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष र कार्यकारी निर्देशक समेतको उपस्थितिमा श्रमिक र व्यवस्थापन बीच भएको सहमतिबाट अस्पताल पछाडि हटेको छ,” अध्यक्ष खरेलले भनिन्, “अब पहिलो चरणमा संगठन अस्पतालविरुद्ध कानुनी संघर्षका जानेछ ।”

उनले अगाडि भनिन्, “अस्पतालको मेरुदण्ड कर्मचारीहरुलाई न्यूनतम् पारिश्रमिक दिइएको छैन्, सामाजिक सुरक्षा कोषमा सूचीकृत गरिएको छैन् साथै बन्दाबन्दीसँगै सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार सेवा सुविधा समेत दिइएको छैन् । श्रमिकका कानूनसम्मत् माग पूरा नगरिए व्यवस्थापनले ठूलो मूल्य चुकाउन तयार भएर बसे हुन्छ ।”

गत शुक्रबार कान्तिपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सिबी लामा, निर्देशक केपी सिंह साथै मेडिकल डाइरेक्टर डा. प्रभाकर साह र अखिल नेपाल स्वास्थ्य श्रमिक संघ कान्तिपुर अस्पताल मूल इकाई कमिटी बीच भएको छलफलमा श्रमिकहरुले आफ्नो माग ७ दिनभित्र पूरा गर्न अस्पताललाई समयसीमा तोकेको थियो ।

आधिकारिक ट्रेड युनियन, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ कान्तिपुर अस्पताल मूल इकाई कमिटीका अध्यक्ष प्रेमकृष्ण बोयजुले चैत, बैशाख र जेठको तलब भत्ता एकमुष्ट पाउनु पर्ने, न्यूनतम् पारिश्रमिक कार्यान्वयन हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा सूचीकृत साथै बन्दाबन्दीमा श्रमिक तथा कर्मचारीहरुलाई अस्पताल आउने तथा घर फर्कन यातायातको व्यवस्था गर्नुपर्नेमा नगरेकाले श्रमिक तथा कर्मचारीहरुसँग अस्पताल प्रशासनको रवैयाविरुद्ध अब संघर्षको विकल्प नरहेको बताए ।

उनले वर्षौंदेखि काम गरेका श्रमिकहरुको तलब सुबिधा रू. ८ देखि १० हजार मात्रै रहेको, बन्दाबन्दीमा पनि यातायात सुबिधा नभएको, स्थायी कर्मचारीको संचय कोष काटिएको तर कोषमा रकम जम्मा नगरिएको, ग्रेड रोक्का गरिएको, कोरोना महामारीमा पनि स्वास्थ्य सुरक्षा सामग्री पर्याप्त नभएको पनि बताए ।