८ कार्तिक ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समृद्धिका आधारहरु भनेको त्यो देशको जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास भएको बताएका छन् ।
नेपाली जनसमुदायहरुका चाडपर्व दशैं, तिहार, छठ, नेपाल संवत् लगायतका अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले कोरोनाका कारण विषम परिस्थिति सिर्जना भएको भन्दै स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्ड पालना गर्दै चाडपर्व मनाउन सबैमा अपील समेत गरेका छन् ।
अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिको पूर्णपाठः
शुभकामना
दशैं, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वहरुको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वहरुले आपसी सहिष्णुता, भातृत्व र भावनात्मक एकता पैदा गर्दछन् । यिनै चाडपर्वहरुले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पनि पु-याउँदै आएका छन् ।
विविधतायुक्त सांस्कृतिक ऐक्यवद्धता हामी नेपालीहरुको मौलिक विशेषता हो । सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास देशको समृद्धिका आधारहरु हुन् ।
कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको सबैमा विदितै छ । यस विषम परिस्थितिमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गर्दै चाडपर्व मनाउन म सबैमा अपील गर्न चाहन्छु ।
कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामि दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः एकपटक सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
७ कार्तिक, २०७७
……………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष