स्वीटजरल्याण्ड भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

१२ माघ ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

स्वीटजरल्याण्डको डावोसमा अन्तर्राष्ट्रिय आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री ओली ६ दिनको भ्रमण सकेर शनिबार बिहान स्वदेश फर्किएका हुन् ।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग साक्षत्कार गरेका प्रधानमन्त्री ओलीलाई डा.गोविन्द केसीले प्रधानमन्त्रीको राजीनामा मागेका छन् नि भन्ने प्रश्नको जवाफमा उनले मिडिया र अरु क्षेत्रलाई मर्यादामा बस्नुपर्ने सुझाए ।

डावोसमा लोकतन्त्रको भविष्य, त्यसलाई कस्तो आकारमा लैजाने भन्ने सन्दर्भमा बिचारहरु राखिएको भन्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र, राजनीति, आर्थिक र सामाजिक सबै क्षेत्रमा जनतालाई अधिकारसम्पन्न बनाउनु पर्ने कुरा उठाइएको बताए ।

प्र्रधानमन्त्री ओलीले प्रेसका सम्बन्धमा जनतालाई सुसूचित गर्ने, शिक्षित गर्ने एउटा सम्मानित क्षेत्र भएकाले स्वतन्त्रताको कुरा उठाउँदै यस क्षेत्रमाथि कुनै प्रकारको थिचोमिचो, अधिकारको कटौती वा बञ्देज हुनुहुँदैन भन्ने कुरा राखिएको बताए ।

पछिल्लो विकसित घटनाका सन्दर्भमा प्रधानमन्त्री ओलीले भने, ‘यतातिर म आज भर्खर आइपुग्दैछु । यताका कुराहरु मैले अलिक राम्ररी बुझ्नु पनि पर्छ ।’

तपाइको मत