३ असार ०७४, काठमाडौं । नेपालको इतिहास, संस्कृति तथा राजकाज व्यवस्थाबारे लेखिएका सनद, रोक्का, लालमोहरका हजारौँ चाङ जोखिमपूर्ण अवस्थामा छन् ।
भद्रकाली मन्दिर वरपरका चौघेरा भवनमा राखिएका ती सम्पत्ति संरक्षणका लागि खासै चासो पनि राखिएको छैन । त्यसै पनि जीर्ण भइसकेको भवन २०७२ सालको भूकम्पले थिलथिलो बनेको छ । भवन कुनै पनि बेला ढल्न सक्ने अवस्थामा छ ।
भवन पुनःनिर्माणका लागि योजना बन्दै थन्किँदै गरेको पनि दुई दशक नाघिसकेको छ ।
केन्द्रीय गुठी लगत तथा अभिलेख कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार लुमडी भद्रकाली व्यवस्थापन समितिको पहलमा भवन विभागबाट पुनःनिर्माणको थालनी प्रयास भएको थियो तर त्यो तुहियो ।
गुठी संस्थानको इन्जिनियरिङ शाखाले पनि विगतमा भूमिगत सवारी पार्किङको व्यवस्थासहित भवन पूरै भत्काएर साविकझैँ बनाउने गरी नक्सासमेत तयार गरेको थियो । यसका लागि संस्थानले पटकपटक बजेट पनि स्वीकृत गरिसकेको थियो । भवन बनाउन संस्थान आफैँले पहल गरेन ।
नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम मुखमा रहेको यस भवनलाई काठमाडौँ, भक्तपुर, ललितपुर र कीर्तिपुरको सवारी साधनले परिक्रमा गर्ने हुँदा भवनलाई आकर्षक बनाइनुपर्ने योजना संस्थानले बनाएको थियो ।
“भद्रकाली मन्दिर व्यवस्थापन समितिको पहलमा भवन विभागबाट भवन बनाउने प्रयास भएको थियो तर यो के कति कारणले कसरी रोकियो भन्ने थाहै भएन,” दाहालले भन्नुभयो । भद्रकाली मन्दिर रहेको यस क्षेत्रलाई सर्वसाधारणले विश्रामस्थलका रूपमा पनि प्रयोग गर्दै आएका छन् । अाजकाे गाेरखापत्र दैनिकमा खबर छ ।